सुर्खेत, ३० असोज ।
सुर्खेत उद्योग वाणिज्य संघ र समाज जागरण केन्द्र (स्याक नेपाल) बीच किशोरकिशोरी, युवा, नवउद्यमी तथा साना व्यवसायीहरूको उद्यमशीलता विकास, सीप अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले दुईवर्षे सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौतामार्फत दुवै संस्थाबीच समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँदै युवालाई बजारको मागअनुसारको सीप, रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने लक्ष्य लिइएको छ।कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक छत्र केसीले सम्झौताका उद्देश्य, आगामी दुई वर्षमा सञ्चालन गरिने क्रियाकलाप तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराए ।
उनले कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै संस्थाबीच स्पष्ट समन्वय, जिम्मेवारी बाँडफाँट र निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यस साझेदारीलाई थप सफल र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो।त्यसैगरी, सेभ द चिल्ड्रेनका प्रतिनिधि जिवनाथ शर्माले बजारको माग र आवश्यकताअनुसार किशोरकिशोरी तथा युवाको सीप विकास गरी उनीहरूलाई रोजगारीमा आबद्ध गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए ।
उनले सुर्खेतमा कृत्रिम बुद्धिमत्तामा आधारित व्यवसाय इन्क्युबेसनको अवधारणामार्फत नवउद्यमीलाई प्रोत्साहन गर्ने, उद्योगी व्यवसायीको प्रवद्र्धन गर्ने तथा युवाको जीवनस्तर सुधारमा योगदान पुर्याउने लक्ष्य रहेको उल्लेख गरे । सेभ द चिल्ड्रेन, सुर्खेत फिल्ड अफिसका हेड अफ पिल्ड प्रोग्राम अप्रेसन रतन ओझाले यस नयाँ सहकार्य मोडेलले युवालाई रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले बालश्रम रोकथाममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसायमा बालबालिकालाई श्रमिकका रूपमा प्रयोग नगर्ने र बालश्रममुक्त व्यावसायिक वातावरण निर्माण गर्न प्रतिबद्ध रहनुपर्नेमा जोड दिए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री हर्षविक्रम खड्काले युवाहरू रोजगारीमा आबद्ध हुन चाहने हुन् वा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने, उनीहरूको क्षमता र बजारको आवश्यकताबीच तालमेल स्थापित गर्नु आवश्यक रहेको बताए । उनले संघले उद्योगी व्यवसायीको श्रमशक्ति आवश्यकता पहिचान गरी युवालाई रोजगारीसँग जोड्ने तथा नयाँ व्यावसायिक सोच र प्रारम्भिक चरणका व्यावसायिक अवधारणालाई सफल उद्यममा रूपान्तरण गर्न आवश्यक मार्गदर्शन, मेन्टरसिप र व्यवसाय विस्तारमा सहजीकरण गर्ने बताए ।
त्यस्तै, समाज जागरण केन्द्र (स्याक नेपाल) का अध्यक्ष मीना कुमारी तिवारी शर्माले यस अभियानले युवालाई रोजगारी तथा उद्यमशीलतामा आबद्ध हुन प्रेरित गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले यो पहल नयाँ अभ्यासमा मात्र सीमित नभई प्रभावकारी कार्यान्वयन र उपलब्धिमार्फत सफल अभियानका रूपमा स्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो।कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी, वस्तुगत समितिका अध्यक्ष तथा पदाधिकारी, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन बिसी, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि एवं समाज जागरण केन्द्र (स्याक नेपाल) का पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यस सम्झौताबाट युवाको क्षमता र बजारको आवश्यकताबीचको दूरी कम गर्दै सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी सिर्जना, नवप्रवर्तनमा आधारित उद्यमशीलता विकास तथा निजी क्षेत्रको प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय स्रोतसाधनको उपयोग, नयाँ व्यवसायको विकास र निजी क्षेत्रको विस्तारमार्फत सुर्खेत तथा समग्र कर्णाली प्रदेशको आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
युवा सशक्तीकरण, दिगो रोजगारी र उद्यमशीलता प्रवद्र्धनमार्फत समृद्ध कर्णाली निर्माण गर्ने लक्ष्यसहित सुर्खेत उद्योग वाणिज्य संघ र समाज जागरण केन्द्र (स्याक नेपाल) बीचको यो सहकार्यलाई महत्वपूर्ण पहलका रूपमा लिइएको छ ।









