बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँचदिने प्रशिक्षक तालिम सुरु

  • नमस्ते कर्णाली

  • बर्दिया ,१२ कार्तिक ।
    सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउन युवाहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोजीमा युवा नागरिक स्कोर कार्ड (वाईसीएससी) सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ।

    सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब (बीयूसी), राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित तालिममा बर्दियाका तीन स्थानीय तहका २१ जना युवा स्वयंसेवकसहित साझेदार संस्थाका प्रतिनिधि गरी ३० जनाको सहभागिता रहेको छ।

    युवाहरूलाई सार्वजनिक सेवा प्रवाहको अनुगमन तथा मूल्याङ्कन गर्न सक्षम बनाउनुका साथै नागरिक सहभागिता र सामाजिक जवाफदेहिता प्रवर्द्धन गर्ने तालिमको मुख्य उद्देश्य रहेको छ। युवाहरूलाई स्थानीय सरकार तथा सेवा प्रदायक निकायसँग रचनात्मक संवाद र सहकार्य गर्न सक्षम बनाउँदै सार्वजनिक सेवाको गुणस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने लक्ष्य राखिएको छ।

    तालिमको उद्घाटन सत्रमा सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले युवा नागरिक स्कोर कार्डको अवधारणा, महत्त्व र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभयो। उहाँले यस पद्धतिमार्फत नागरिकले सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कन गर्न, सेवा प्रवाहमा रहेका कमीकमजोरी पहिचान गर्न तथा सेवाग्राही र सेवा प्रदायकबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने बताउनुभयो।

    त्यसैगरी, प्लान इन्टरनेशनल नेपालका विशेषज्ञ झलकमान विश्वकर्माले सुरक्षित भविष्य परियोजनाका प्रमुख उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार संरक्षण, बालविवाह तथा कम उमेरमा हुने र जबर्जस्ती गरिने विवाह न्यूनीकरण र गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो।

    हेन्डस नेपालका युवा सशक्तीकरण परियोजना संयोजक रोशन तिमिल्सिनाले सहजीकरण गरिरहेको तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइएको छ। सहभागीहरूलाई तथ्याङ्क सङ्कलन तथा विश्लेषण, सार्वजनिक सेवाको गुणस्तर मूल्याङ्कन, सामुदायिक परामर्श, समूहगत छलफल र सार्वजनिक सेवासम्बन्धी मापदण्ड पहिचान गर्ने सीप प्रदान गरिनेछ।

    त्यस्तै, सङ्कलित तथ्य तथा प्रमाणका आधारमा सुधारका सुझाव तयार गर्ने, नागरिक र सेवा प्रदायकबीच रचनात्मक संवाद सहजीकरण गर्ने तथा पहिचान भएका समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्ने विषयमा समेत अभ्यास गराइनेछ।

    युवा नागरिक स्कोर कार्ड सार्वजनिक सेवा प्रवाहको अवस्था बुझ्ने, नागरिकका आवश्यकता र अनुभवलाई अभिलेख गर्ने तथा सेवा सुधारका लागि सम्बन्धित निकायलाई प्रमाणमा आधारित सुझाव दिने नागरिक सहभागितामूलक पद्धति हो। यसले सार्वजनिक सेवा प्रदायक निकायलाई नागरिकका अपेक्षा र गुनासाबारे जानकारी लिन तथा सेवा प्रवाहमा सुधारका सम्भावना पहिचान गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    यस पहलले युवाहरूलाई विकासका लाभग्राहीका रूपमा मात्र नभई सक्रिय नागरिक, परिवर्तनका संवाहक र जवाफदेही समाज निर्माणका साझेदारका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। स्थानीय योजना, बजेट तथा कार्यक्रम निर्माण प्रक्रियामा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै समुदायका वास्तविक आवश्यकता सम्बोधन गर्न पनि यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।।

    पाँचदिने तालिम सम्पन्न भएपछि सहभागी युवा स्वयंसेवकहरूले सिकेका ज्ञान र सीप आ–आफ्नो समुदायमा प्रयोग गर्ने अपेक्षा गरिएको छ। उनीहरूले सार्वजनिक सेवा प्रवाहको मूल्याङ्कन गर्ने, समस्या तथा चुनौती पहिचान गर्ने, सम्बन्धित निकायलाई प्रमाणमा आधारित सुझाव दिने र सेवा सुधारका लागि संवाद तथा सहकार्य सहजीकरण गर्नेछन्।

    यसबाट नागरिक र स्थानीय सरकारबीचको सम्बन्ध तथा सहकार्य सुदृढ हुनुका साथै सार्वजनिक सेवाको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता र दिगो सामुदायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

    प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाले स्थानीय सरकार, विद्यालय, समुदाय, युवा समूह तथा अन्य सरोकारवालासँगको सहकार्यमा बालविवाह न्यूनीकरण, बाल संरक्षण सुदृढीकरण, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा किशोरकिशोरी र युवाहरूको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ।

    युवाको नेतृत्व, सक्रिय नागरिक सहभागिता र जिम्मेवार संस्थागत अभ्यासले मात्रै समुदायका समस्या पहिचान गरी समाधानका लागि प्रभावकारी पहल गर्न सकिन्छ। सार्वजनिक सेवा प्रवाहमा युवाहरूको अर्थपूर्ण सहभागिता बढाउन सके स्थानीय सरकारलाई नागरिकप्रति थप उत्तरदायी बनाउनुका साथै सुरक्षित, समावेशी र समुन्नत समुदाय निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

     

  • १३ कार्तिक २०८३, बिहीबार १२:१९ प्रकाशित

  • Nabintech