बाँके ,१९ कार्तिक ।
तिहार र छठ पर्व नजिकिएसँगै बाँकेका कसगर समुदायलाई माटाका भाँडाकुँडा तथा दियो बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ। पुस्तौँदेखि परम्परागत पेसाका रूपमा माटाका सामग्री बनाउँदै आएका कसगर समुदायका परिवार यतिबेला चाडपर्वलाई लक्षित गरी विभिन्न आकार र प्रकारका दियो, घैँटा, कलश, धुपौरा लगायतका सामग्री उत्पादन गर्न व्यस्त भएका छन्।
तिहारमा घरघरमा दियो बाल्ने र छठ पर्वमा पूजाका लागि माटाका भाँडाकुँडाको प्रयोग गर्ने परम्परा रहेकाले यस समयमा माटाका सामग्रीको माग अत्यधिक बढ्ने गरेको छ। माग बढेसँगै कसगर समुदायका परिवारलाई बिहानदेखि रातिसम्म उत्पादन र बिक्रीको काममा खटिनुपर्ने अवस्था रहेको छ।
नेपालगञ्जका स्थानीय बासुदेव कसगरले तिहार र छठ पर्वको समयमा माटाका दियो, कलश, घैँटा तथा अन्य सामग्रीको माग अत्यधिक हुने भएकाले उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेको बताउनुभयो। सामान्य समयभन्दा चाडपर्वको समयमा व्यापार राम्रो हुने गरेको उहाँको भनाइ छ। यस सिजनमा सबै खर्च कटाएर ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो।
तर, माटाका सामग्रीको माग बढे पनि आवश्यक कच्चा पदार्थ अर्थात् माटोको व्यवस्थापन गर्न भने कठिन हुँदै गएको छ। माटो सहज रूपमा उपलब्ध नहुँदा टाढाबाट खरिद गरेर ल्याउनुपर्ने बाध्यता रहेको श्यामकुमार कसगरले बताउनुभयो। उहाँका अनुसार अहिले एक ट्याक्टर माटोको १० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था छ।
पछिल्लो समय बजारमा प्लास्टिक तथा अन्य आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको व्यापार प्रभावित हुन थालेको उहाँको भनाइ छ। पुर्खौँदेखि गर्दै आएको पेसा पछिल्लो पुस्ताका लागि आकर्षणको विषय बन्न नसक्दा यसको निरन्तरतामै चुनौती थपिएको उहाँले बताउनुभयो।
यस्तै, युवा पुस्ता रोजगारीका लागि विदेशिने क्रम बढेसँगै माटाका सामग्री उत्पादन गर्ने पेसामा युवाको सहभागिता न्यून हुँदै गएको मिना कसगरले बताउनुभयो। चाडपर्वको समयमा माग अत्यधिक हुने भएकाले परिवारका सबै सदस्य मिलेर दिनरात नभनी काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ। यही पेसाबाट हुने आम्दानीले घरपरिवारको खर्च धान्दै आएको उहाँले बताउनुभयो।
बाँकेमा उत्पादित माटाका सामग्रीको माग स्थानीय बजारमा मात्रै सीमित छैन। तिहार र छठ पर्वको समयमा बर्दिया, दाङ, सुर्खेत लगायतका जिल्लाबाट समेत दियो, कलश तथा अन्य सामग्रीको माग आउने गरेको छ। मागअनुसार उत्पादन गर्नुपर्ने भएकाले अहिले कसगर समुदायका परिवारलाई फुर्सद निकाल्नसमेत मुस्किल परेको छ।
परम्परागत सीप र श्रममा आधारित यो पेसालाई प्रविधिसँग जोड्न सके उत्पादन बढाउनुका साथै लागत र समयसमेत घटाउन सकिने स्थानीयको अपेक्षा छ। विशेषगरी माटो मुछ्ने मेसिनको अभावमा बढी श्रम खर्चिनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्। आर्थिक अभावका कारण आवश्यक उपकरण खरिद गर्न नसकिएको भन्दै स्थानीय सरकार तथा सम्बन्धित सङ्घसंस्थाले प्रविधि र आर्थिक सहयोग गर्नुपर्ने उनीहरूको माग छ।
माटाका भाँडाकुँडा तथा दियो केवल दैनिक उपभोगका सामग्री मात्र नभई नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग समेत जोडिएका छन्। तिहारमा माटाका दियो बाल्ने र छठमा माटाका सामग्री प्रयोग गर्ने चलनले पुस्तौँदेखि यो पेसालाई जीवित राख्दै आएको छ।
तर, आधुनिक सामग्रीको बढ्दो प्रयोग, कच्चा पदार्थको अभाव, उत्पादन लागतमा वृद्धि र युवा पुस्ताको घट्दो आकर्षणका कारण कसगर समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्दै गएको छ। चाडपर्वका बेला मात्रै नभई वर्षभरि नै यो पेसालाई टिकाइराख्न माटोको सहज उपलब्धता, आधुनिक प्रविधि, सीप हस्तान्तरण र उत्पादित सामग्रीको बजार व्यवस्थापनमा स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक देखिएको छ।
परम्परागत सीपको संरक्षणसँगै उत्पादनलाई व्यावसायिक बनाउन सके कसगर समुदायको पुर्ख्यौली पेसा जोगिनुका साथै स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना हुन सक्छन्।









