गुलरियामा बालबालिका तथा युवाको नेतृत्व विकास र पैरवीसम्बन्धी तालिम सम्पन्न

  • नमस्ते कर्णाली

  • बर्दिया ,१९ कार्तिक ।

    बालबालिका, किशोरकिशोरी तथा युवाहरूको नेतृत्व क्षमता, आत्मविश्वास, अभियान सञ्चालन र पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले बर्दियाको गुलरिया नगरपालिकामा दुईदिने नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी तालिम सम्पन्न भएको छ।

    प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब (बीयूसी) तथा राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत कात्तिक १७ र १८ गते आयोजित तालिममा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका २५ जना बालबालिका, किशोरकिशोरी तथा युवाहरूको सहभागिता रहेको थियो।

    तालिमको सुरुवात गर्दै सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य, विषयवस्तु तथा बालबालिका र युवाहरूको नेतृत्व विकासमा यस्ता तालिमको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले बालबालिका तथा युवाहरूको क्षमता विकाससँगै उनीहरूलाई सामाजिक सवालमा सक्रिय रूपमा सहभागी गराउनु आवश्यक रहेको बताउनुभएको थियो।

    तालिमका क्रममा प्रभावकारी अभियान सञ्चालन, जनवकालत, नेतृत्व विकास तथा नेतृत्वदायी क्षमता, पैरवी र वकालत, बालबालिका तथा युवाहरूको अर्थपूर्ण सहभागिता र बालअधिकारका सवालमा केन्द्रित रहेर छलफल तथा अभ्यास गरिएको थियो। साथै, नीतिगत तहमा आफ्ना विचार, आवाज र सरोकारका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने तरिकाबारे समेत सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

    तालिमको सहजीकरण विनय दिल लामाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नग्मा सिद्दिकीले गर्नुभएको थियो।

    तालिमले सहभागीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, प्रभावकारी सञ्चार तथा अभियान सञ्चालन र पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। यसका साथै आफ्ना अधिकार, समस्या र सरोकारका विषयमा निर्भीकतापूर्वक आवाज उठाउन तथा समुदायमा सकारात्मक परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सहभागीहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    बालबालिका तथा युवाहरूलाई सामाजिक परिवर्तनका सक्रिय संवाहकका रूपमा स्थापित गर्न उनीहरूको विचार, क्षमता र नेतृत्वलाई उचित स्थान दिनुपर्ने आवश्यकता पनि तालिमले औँल्याएको छ। बालबालिका तथा युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सकेमा मात्रै बालमैत्री, सुरक्षित, समावेशी र न्यायपूर्ण समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

    सामाजिक चुनौतीहरूको पहिचान, समाधानका लागि सामूहिक पहल तथा अधिकारका सवालमा पैरवी गर्न सक्षम बालबालिका र युवा नेतृत्व निर्माण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। आयोजकका अनुसार यस्ता कार्यक्रमले बालबालिका तथा युवाहरूलाई आफ्नो समुदायमा हुने सकारात्मक परिवर्तनको नेतृत्व लिन थप सक्षम बनाउने अपेक्षा गरिएको छ।

  • २० कार्तिक २०८३, बिहीबार १०:४८ प्रकाशित

  • Nabintech