काठमाडौं ,३ कार्तिक ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
प्रतियोगिताको उद्घाटन मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भए पनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने र प्रतियोगितामा सातवटै प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए ।
प्रतियोगिताका खेलहरू सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिने उनले बताए ।
दशौं राष्ट्रिय खेलकुदमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने सदस्य सचिव मेहताले जानकारी दिए ।
त्यस्तै, प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ ।
त्यस्तै, टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सदस्य सचिव मेहताले बताए ।









