बाँके ,५ मंसिर ।
वर्षायाममा हिलाम्मे सडक, खोलामा पुल तथा कल्भर्टको अभाव र आधारभूत सेवा लिन टाढा जानुपर्ने बाध्यता । राप्तीसोनारी गाउँपालिका–५ का बासिन्दाले लामो समयदेखि भोग्दै आएका यस्ता समस्यालाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा विभिन्न विकास योजना अघि बढाइएको छ ।
वडाले चालु आर्थिक वर्षमा करिब ९४ लाख ९८ हजार रुपैयाँ लागतका ४२ वटा योजना कार्यान्वयनमा ल्याएको छ । सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक विकास तथा सांस्कृतिक संरक्षणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न लागिएका योजनाले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
वडाको विकास योजनामा सबैभन्दा बढी प्राथमिकता यातायात पूर्वाधारलाई दिइएको छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि करिब ३१ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । वर्षायाममा आवतजावत कठिन हुने बस्तीलाई मुख्य सडकसँग जोड्ने उद्देश्यले विभिन्न स्थानमा पिसिसी सडक, ग्राभेल, कल्भर्ट तथा नाली निर्माणका काम अघि बढाइएको वडा कार्यालयले जनाएको छ ।
यसअन्तर्गत बनौरे खोलामा १० लाख रुपैयाँको लागतमा कल्भर्ट निर्माण गरिँदैछ । सर्बे बुढाको घरदेखि मोहन परियारको घरसम्म नौ लाख रुपैयाँको लागतमा पिसिसी सडक निर्माण गरिनेछ । त्यस्तै, नकछेदु थारूको घरदेखि राप्ती बन्दासम्म सडक पिसिसी तथा ह्युमपाइप व्यवस्थापन, कृष्ण केसीको घरदेखि दरवारी थारूको घरसम्म ग्राभेल र श्याम थारूको घरदेखि अगीराम थारूको घरसम्म पिसिसी सडक निर्माण गर्ने योजना छ ।
त्यसैगरी, गीता थारूको घरदेखि गेलु थारूको घरसम्म तीन लाख रुपैयाँको लागतमा नाली निर्माण गरिनेछ भने अपिस खोलामा तीन लाख रुपैयाँको लागतमा तारजाली लगाइनेछ । सडक तथा नाली निर्माण र खोलामा तारजाली लगाउने कामले वर्षायाममा हुने डुबान, पानी निकासको समस्या तथा कटानको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषि र महिला उद्यमशीलताबाट गाउँमै आम्दानी
भौतिक पूर्वाधार निर्माणसँगै वडाले कृषि तथा पशुपालनलाई स्थानीयको आयआर्जनको प्रमुख आधार बनाउने लक्ष्य लिएको छ । यसका लागि करिब १४ लाख रुपैयाँ कृषि आधुनिकीकरण तथा महिला उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ ।
सोनारी ग्रामीण महिला बेसार उद्योगको प्रवर्द्धनका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । यस कार्यक्रमले स्थानीय महिलालाई सामूहिक उद्यम, उत्पादन र बजारीकरणमा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कृषकलाई ५० प्रतिशत अनुदानमा १० एचपी क्षमताको मिनी टिलर उपलब्ध गराउने, कृषि मोटर सञ्चालनका लागि आवश्यक पोल जडान गर्ने तथा पशुपालकलाई ५० प्रतिशत अनुदानमा च्यापकटर मेसिन वितरण गर्ने कार्यक्रम पनि समेटिएका छन् ।
पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन पशु औषधि खरिद तथा वितरणको व्यवस्था गरिएको छ । कृषि उपकरणमा अनुदान र महिला उद्यमशीलतामा लगानी गर्दा उत्पादन लागत घट्ने, श्रम बचत हुने तथा स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर विस्तार हुने वडा कार्यालयको विश्वास छ ।
विद्यालयमा प्रविधिमैत्री शिक्षा, स्वास्थ्य चौकीमै प्रयोगशाला
शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई पनि वडाले प्राथमिकतामा राखेको छ । करिब नौ लाख ६० हजार रुपैयाँका शैक्षिक योजनामार्फत सामुदायिक विद्यालयको भौतिक तथा प्रविधिगत क्षमता सुधार गर्न लागिएको छ ।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय चिलहरिया र श्री समय आधारभूत विद्यालयलाई कम्प्युटर, प्रिन्टर तथा आवश्यक कार्यालय सामग्री उपलब्ध गराइनेछ । भुवर भवानी माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) व्यवस्थापन र शौचालय मर्मत गरिनेछ । बालक शान्ति प्राथमिक विद्यालयमा तीन लाख रुपैयाँको लागतमा बगैँचा निर्माण गर्ने योजना पनि अघि सारिएको छ । यसका साथै युवालाई प्रविधिसँग जोड्न कम्प्युटर तालिमसमेत सञ्चालन गरिनेछ ।
स्वास्थ्य सेवातर्फ स्वास्थ्य चौकीमै प्रयोगशाला स्थापना गर्ने योजना समेटिएको छ । एक लाख रुपैयाँको लागतमा प्रयोगशाला स्थापना भएपछि सामान्य रगत तथा दिसा–पिसाब परीक्षणका लागि कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने स्थानीयको बाध्यता कम हुने अपेक्षा गरिएको छ । आयुर्वेदिक औषधि खरिद तथा वितरणमार्फत परम्परागत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने कार्यक्रम पनि वडाले अघि सारेको छ ।
विकाससँगै संस्कृति र सामाजिक सद्भावमा जोड
वडाले भौतिक विकासलाई मात्र प्राथमिकता नदिई स्थानीय कला, संस्कृति, सामाजिक न्याय र सामुदायिक एकतालाई समेत विकास योजनामा समेटेको छ । थारू समुदायको परम्परागत नेतृत्व प्रणाली बरघर प्रथाको संरक्षण र प्रवर्द्धनका लागि ‘वडासँग बरघर कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
त्यसैगरी, सन्तपुर टोलमा शिव मन्दिर निर्माण, चिलहरियाको अधुरो शिव मन्दिर निर्माण तथा चाचरफर्का र जुरपानीस्थित शिव मन्दिरको मर्मतसम्भार र रंगरोगन गर्ने योजना अघि बढाइएको छ । यी कार्यक्रमले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सामाजिक विकासतर्फ अपाङ्गता भएका व्यक्तिका लागि लक्षित कार्यक्रम, द्वन्द्वपीडितलाई सम्मान, सामुदायिक मेलमिलापकर्तालाई प्रोत्साहन तथा विपद् व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिनेछ । युवाको प्रतिभा पहिचान र खेलकुद प्रवर्द्धनका लागि वडा अध्यक्ष कप आयोजना गर्ने योजना पनि समावेश गरिएको छ ।
गाउँपालिकाबाट थप सात योजना, स्वास्थ्य र खेलकुद पूर्वाधारमा लगानी
वडा कार्यालयको आफ्नै बजेटबाट सञ्चालन हुने योजनाबाहेक राप्तीसोनारी गाउँपालिकाबाट प्राप्त सातवटा विशेष पूर्वाधार योजनाले पनि वडा नं. ५ को विकासमा थप सहयोग पुर्याउने भएका छन् ।
गोरभुरु सल्यानी टोलमा भीमबहादुर खत्रीको घरदेखि बनौरे खोलासम्म पिसिसी सडक निर्माण, चाचरफर्कामा जागेश्वर थारूको घरदेखि कैशल थारूको घरसम्म सडक ढलान तथा सोही क्षेत्रमा अधुरो सडकलाई पूर्णता दिने योजना अघि बढाइएको छ ।
ललहीगाउँमा अधुरो पिसिसी सडक निर्माणलाई निरन्तरता दिइनेछ भने बिनौना स्वास्थ्य चौकी जाने सडक साझेदारीमा निर्माण गरिनेछ । यसबाट बिरामी, स्वास्थ्यकर्मी तथा सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । वडाका विभिन्न स्थानमा पानी निकास तथा आवतजावत सहज बनाउन कल्भर्ट निर्माणका कामसमेत अघि बढाइएका छन् ।
युवाको खेलकुद प्रतिभा विकास र प्रवर्द्धनका लागि रंगशाला तथा कभर्ड हल निर्माणको योजना पनि गाउँपालिकाले समेटेको छ । कभर्ड हल निर्माण भएपछि वर्षायाम तथा प्रतिकूल मौसममा समेत इन्डोर खेलकुद अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–५ का वडा अध्यक्ष झगरु थारूले बजेटलाई टुक्रे योजनामा मात्र सीमित नगरी नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या समाधान गर्ने र दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा केन्द्रित गरिएको बताउनुभयो ।
‘हाम्रो प्राथमिकता नागरिकले दैनिक भोगिरहेका समस्या समाधान गर्नु हो । सडक, कल्भर्ट र नाली निर्माणले आवागमन सहज बनाउँछ भने कृषि उपकरणमा अनुदान र महिला बेसार उद्योगले गाउँमै आम्दानी तथा रोजगारीका अवसर सिर्जना गर्छन्,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाबाट प्राप्त योजनाले वडाको सीमित बजेटबाट सम्भव नभएका ठूला पूर्वाधार निर्माणमा सहयोग पुगेको उल्लेख गर्दै अध्यक्ष थारूले सबै योजना गुणस्तरीय र समयमै सम्पन्न गर्न वडा कार्यालयले निरन्तर अनुगमन तथा निगरानी गरिरहेको जानकारी दिनुभयो ।
ग्रामीण बस्तीमा सडक, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद र सांस्कृतिक संरक्षणलाई एकीकृत रूपमा अघि बढाइएका यी योजनाले विकासका अवसर नागरिकको घरदैलोसम्म पुर्याउने अपेक्षा गरिएको छ । तर योजनाको प्रभावकारिता बजेट विनियोजनमा मात्र नभई समयमै निर्माण सम्पन्न गर्ने, गुणस्तर कायम राख्ने र निर्मित संरचनाको दिगो व्यवस्थापन गर्ने विषयमा निर्भर रहनेछ । यी काम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके राप्तीसोनारी–५ को ग्रामीण जीवनस्तर सुधारसँगै स्थानीयस्तरमै आत्मनिर्भरता र आर्थिक गतिविधि विस्तारमा समेत टेवा पुग्ने देखिन्छ ।









