सरस्वती सामुदायिक वनको कार्यालय भवन सिलान्यास

  • नमस्ते कर्णाली

  • कोहलपुर नगरपालिका–१०, एकतानगरस्थित सरस्वती सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यालय भवन निर्माणको सिलान्यास गरिएको छ । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले एक कार्यक्रमबीच सामुदायिक वनको कार्यालय भवनको सिलान्यास गर्नु भएको हो ।
    सामुदायिक वन उपभोक्ता समितिको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै उपभोक्तालाई वनसँग सम्बन्धित सेवा तथा कार्यक्रम सञ्चालन गर्न सहज हुने उद्देश्यले कार्यालय भवन निर्माण गर्न लागिएको हो । भवन निर्माण सम्पन्न भएपछि समितिको नियमित प्रशासनिक काम, बैठक, उपभोक्ता भेला, वन संरक्षणसम्बन्धी कार्यक्रम तथा अन्य गतिविधि सञ्चालनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।


    एकतले उक्त कार्यालय भवनमा एक वटा हल र तीन वटा कोठा निर्माण हुने जनाइएको छ। भवन निर्माणको कुल लागत रु. ८६ लाख ७४ हजार ९ सय ७६ रहेको कार्यवाहक अध्यक्ष रतन बुढाले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माण कार्य क्रमागत रूपमा सम्पन्न गरिनेछ ।
    भवन निर्माणका लागि कोहलपुर नगरपालिकाले सरस्वती सामुदायिक वनमा फोहोरमैला व्यवस्थापन गरेबापतको रकमसमेत हिसाब मिलान हुने गरी सहयोग गरेको जनाइएको छ। फोहोरमैला व्यवस्थापनका क्रममा प्रयोग भएका प्रत्येक महिना बापत रु. १ लाख ५० हजार का दरले हुने रकमलाई भवन निर्माणको लागतमा हिसाब मिलान गर्ने व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष नर बहादुर मल्लले बताउनुभयो ।

    सिलान्यास कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सामुदायिक वन स्थानीय समुदायको सम्पत्ति मात्र नभई वातावरण संरक्षण, जैविक विविधता र स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले वनको संरक्षणसँगै यसको दिगो विकास र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर नगरपालिकाले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    नगर प्रमुख आचार्यले सामुदायिक वनको विकासका क्रममा देखिएका जायज माग तथा आवश्यकतालाई सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको बताउँदै वन संरक्षण, हरियाली प्रवद्र्धन, वातावरणीय सुधार तथा उपभोक्ताको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
    उहाँले सामुदायिक वनको संरक्षण र विकासमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै वनलाई केवल काठ तथा दाउराको स्रोतका रूपमा मात्र नभई वातावरण संरक्षण, आयआर्जन, पर्यटन तथा स्थानीय आर्थिक विकाससँग जोड्नुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रममा सरस्वती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नरबहादुर मल्लले कार्यालय भवन निर्माणले समितिको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले सामुदायिक वनको संरक्षण, संवद्र्धन र उपभोक्ताको हितलाई केन्द्रमा राखेर समितिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि वनको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताउनुभयो।

    अध्यक्ष मल्लले सामुदायिक वनले स्थानीय वातावरण संरक्षणसँगै उपभोक्ताको सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पु¥याउँदै आएको उल्लेख गर्नुभयो। उहाँले वन क्षेत्रको संरक्षण, वृक्षरोपण, तारबार, वन पैदावारको व्यवस्थित उपयोग तथा सार्वजनिक हितका कामलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँका अनुसार कार्यालय भवन निर्माण भएपछि समितिका प्रशासनिक काम व्यवस्थित हुनुका साथै उपभोक्तासँगको समन्वय, बैठक तथा विभिन्न कार्यक्रम सञ्चालनमा समेत सहजता हुनेछ। भवन निर्माणका क्रममा सम्बन्धित निकाय, उपभोक्ता तथा स्थानीय समुदायबाट निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको उहाँले बताउनुभयो।

    सरस्वती सामुदायिक वन उपभोक्ता समूहले पछिल्ला वर्षहरूमा वन संरक्षण तथा वातावरणीय व्यवस्थापनसँगै स्थानीय समुदायको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। वन क्षेत्रको संरक्षण, वृक्षरोपण, सरसफाइ, वन पैदावारको व्यवस्थापन तथा सार्वजनिक हितका काममा समितिले सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।

    भवन सिलान्यास कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी, विभिन्न उपसमितिका अध्यक्ष तथा प्रतिनिधि, उपभोक्ता, स्थानीय सरोकारवाला, सञ्चारकर्मी तथा पत्रकारलगायतको उपस्थिति रहेको थियो।

    सामुदायिक वनको कार्यालय भवन निर्माणसँगै संस्थाको प्रशासनिक संरचना थप व्यवस्थित हुने र वन संरक्षण तथा उपभोक्तामुखी कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भवन निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न गरी सामुदायिक वनको संस्थागत विकासलाई थप मजबुत बनाउने समितिले जनाएको छ।

  • ६ मंसिर २०८३, शनिबार १९:०७ प्रकाशित

  • Nabintech