ताँजाकोटमा गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह–२०८३ सुरु

मुख्यमन्त्री मंगलबहादुर शाहीद्वारा उद्घाटन, विद्यार्थीको प्रतिभा र सिर्जनात्मक क्षमता विकासमा जोड


  • अशाेक भण्डारी

  • हुम्ला । हुम्लाको ताजाकोट गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह–२०८३ आइतवार देखि औपचारिक रूपमा सुरु भएको छ । “शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार–ताजाकोट विकासको मूल आधार” भन्ने नाराका साथ आयोजना गरिएको सप्ताह कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय मंगलबहादुर शाहीले गर्नुभएको हो । कार्यक्रम ताजाकोट गाउँपालिका–३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन समारोह ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री माननीय जुम्कित लामा (कार्की), कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रणसिंह परियार, हुम्ला जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. चन्द्रप्रसाद रिजाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । त्यस्तै, गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।


    विद्यार्थीको प्रतिभा पहिचान र प्रस्फुटनमा जोड
    सप्ताह कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्दै उनीहरूको सिर्जनात्मक क्षमता, नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन तथा सामाजिक व्यवहारको विकास गर्ने उद्देश्य राखेको गाउँपालिकाले जनाएको छ ।पढाइसँगै अतिरिक्त क्रियाकलापलाई शिक्षण सिकाइको महत्वपूर्ण पक्षका रूपमा विकास गर्ने, विद्यार्थीलाई प्रतिस्पर्धात्मक वातावरणमा सहभागी गराउने र उनीहरूमा लुकेर रहेका प्रतिभालाई सार्वजनिक रूपमा प्रस्फुटन गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमअन्तर्गत गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा विभिन्न खेलकुद, सिर्जनात्मक तथा बौद्धिक प्रतियोगिता, सांस्कृतिक प्रस्तुति र प्रतिभा प्रदर्शनलगायतका गतिविधि सञ्चालन गरिने जनाइएको छ । गाउँपालिकाले विद्यालय तहबाटै विद्यार्थीको प्रतिभा पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने र त्यसबाट शैक्षिक वातावरणलाई थप सिर्जनात्मक तथा प्रभावकारी बनाउने अपेक्षा गरेको छ ।
    ‘शिक्षासँगै प्रतिभा विकास आवश्यक’ ः मुख्यमन्त्री शाही


    कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले शिक्षाको गुणस्तर सुधारका लागि कक्षाकोठाको पढाइसँगै विद्यार्थीका अतिरिक्त क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीको प्रतिभा पहिचान, सिर्जनात्मक क्षमता विकास र उनीहरूलाई आत्मविश्वासी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो। मुख्यमन्त्री शाहीले दुर्गम तथा हिमाली क्षेत्रका विद्यार्थीहरूमा पनि क्षमता र प्रतिभाको कमी नरहेको उल्लेख गर्दै उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित अवसर र वातावरण सिर्जना गर्न स्थानीय तह, विद्यालय, शिक्षक तथा अभिभावकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर, दक्ष शिक्षक, प्रविधिमैत्री सिकाइ र विद्यार्थी केन्द्रित शिक्षण पद्धतिमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
    ‘विद्यार्थीको प्रतिभा पहिचान गर्ने महत्वपूर्ण अवसर’ ः अध्यक्ष जैसी
    ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप सप्ताह आयोजना गरिएको बताउनुभयो।

    अध्यक्ष जैसीका अनुसार विद्यार्थीको क्षमता केवल पाठ्यपुस्तकको ज्ञानबाट मात्र मापन गर्न नसकिने भएकाले उनीहरूको रुचि, प्रतिभा, सिर्जनात्मकता र नेतृत्व क्षमताको पहिचान गर्न अतिरिक्त क्रियाकलाप आवश्यक छ । उहाँले भन्नुभयो, “विद्यार्थीमा लुकेका प्रतिभा पहिचान गरी उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर दिनु हाम्रो मुख्य उद्देश्य हो। पढाइसँगै खेलकुद, कला, संस्कृति, सिर्जनात्मकता र नेतृत्व विकासलाई अघि बढाउन सके विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्छ।”
    अध्यक्ष जैसीले सप्ताह कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै ताजाकोटको शैक्षिक क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    ‘शैक्षिक गुणस्तर सुधारमा अतिरिक्त क्रियाकलाप प्रभावकारी माध्यम हो’ ः प्रमुख प्रशासकीय अधिकृत रावत

    ताजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर रावतले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको प्रतिभा, सिर्जनशीलता र व्यवहारिक क्षमताको विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
    उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्न अतिरिक्त क्रियाकलाप सप्ताह आयोजना गरिएको बताउनुभयो। यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास बढाउनुका साथै नेतृत्व क्षमता, अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत रावतले विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यबाट मात्र शैक्षिक गुणस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताउनुभयो। उहाँले सप्ताह कार्यक्रमलाई केवल प्रतियोगितामा सीमित नगरी विद्यार्थीको क्षमता पहिचान र भविष्य निर्माणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

    ‘अतिरिक्त क्रियाकलाप सिकाइको अभिन्न अंग’ ः शिक्षा शाखा प्रमुख ढकाल
    ताजाकोट गाउँपालिका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले अतिरिक्त क्रियाकलाप विद्यार्थीको सिकाइ प्रक्रियाको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। उहाँले विद्यालयमा हुने अतिरिक्त क्रियाकलापले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै उनीहरूको सञ्चार सीप, नेतृत्व क्षमता, अनुशासन, सहकार्य भावना तथा निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
    ढकालका अनुसार सप्ताह कार्यक्रममार्फत विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा ल्याएर प्रतिस्पर्धा तथा प्रतिभा प्रदर्शनको अवसर प्रदान गरिएको छ। यसले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको विकास गर्नुका साथै विद्यालयहरूबीच अनुभव आदानप्रदान गर्न समेत सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि अतिरिक्त क्रियाकलापलाई विद्यालय शिक्षाको नियमित प्रक्रियासँग जोड्न आवश्यक छ। सप्ताह कार्यक्रमले विद्यार्थीको क्षमता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ।”

    मंसिर ९ गतेसम्म सञ्चालन हुने

    गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह–२०८३ आगामी मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । सप्ताह अवधिभर गाउँपालिकाअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागितामा विभिन्न प्रतियोगिता तथा प्रतिभा प्रदर्शनका कार्यक्रम सञ्चालन गरिने आयोजक ताजाकोट गाउँपालिकाले जनाएको छ।
    कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिइएको छ। कार्यक्रमले विद्यार्थीको प्रतिभा पहिचानसँगै स्थानीय कला, संस्कृति र सिर्जनशीलतालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ताजाकोट गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई विकासको प्रमुख आधारका रूपमा अघि सारेको अवस्थामा शिक्षाको गुणस्तर सुधार र विद्यार्थीको सर्वाङ्गीण विकासलाई स्थानीय तहको प्राथमिकतासँग जोडेर सप्ताह कार्यक्रम आयोजना गरेको हो। गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै विद्यालयमा गुणस्तरीय शिक्षा, सिर्जनात्मक सिकाइ र विद्यार्थीको प्रतिभा विकासका लागि थप कार्यक्रम सञ्चालन गरिनेछ।

  • ८ मंसिर २०८३, सोमबार ०९:२७ प्रकाशित

  • Nabintech