चार दशकको सास्तीपछि फत्तेपुरमा फेरिँदै विकासको चित्र, कालोपत्र सडक बनेपछि स्थानीयमा खुसी

  • नमस्ते कर्णाली

  • बाँके ,८ मंसिर ।
    कुनै समय सरकारी तथा गैरसरकारी निकायका कर्मचारीसमेत सरुवा भएर जान हिचकिचाउने बाँकेको फत्तेपुरमा अहिले विकासको चित्र फेरिँदै गएको छ । सडक, यातायात र पूर्वाधारको अभावमा दुर्गम मानिने पूर्वी बाँकेको यस क्षेत्रमा पछिल्लो समय सडक विस्तार तथा कालोपत्रको कामले गति लिएसँगै स्थानीयवासीमा खुसी र आशा बढेको छ । वर्षौँदेखि हिलो र धुलोको सास्ती खेप्दै आएका स्थानीयले गाउँमै कालोपत्र सडक देख्न पाएपछि विकासको अनुभूति गर्न थालेका छन् ।

    राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका बाबुलाल पाण्डेका लागि अहिले गाउँमा देखिएको परिवर्तन कुनै सपनाभन्दा कम छैन । चार दशकअघिको दुःख सम्झँदै उहाँ भन्नुहुन्छ, “त्यतिबेला मकै, घ्यू र चामल बोकेर पैदलै नेपालगञ्ज पुग्नुपर्थ्यो । आफूले लगेको सामान बेचेर वा साटेर नुन, चिनी र चियापत्ती किन्थ्यौँ अनि फेरि एक दिन हिँडेर घर फर्किन्थ्यौँ । सडक र बिजुलीको सुविधा त कल्पना गर्न पनि कठिन थियो ।”

    पाण्डेका अनुसार धान बेच्न बजार जाने क्रममा राप्ती नदी तर्नुपर्दा स्थानीयवासीले अनेकौँ सास्ती भोग्नुपर्थ्यो । नदी पार गर्ने क्रममा कतिपयले ज्यान गुमाउनुपरेको र केही व्यक्ति अङ्गभङ्गसमेत भएको पीडादायी विगत सम्झँदा अहिले गाउँमा भएको विकासले आफूलाई अचम्मित बनाउने उहाँ बताउनुहुन्छ । विगतमा सामान्य कामका लागि समेत दिनौँ खर्चिनुपर्ने अवस्था अहिले विस्तारै अन्त्य हुँदै गएको उहाँको भनाइ छ ।

    स्थानीय नुर मोहम्मद खाँका अनुसार सडक विस्तारसँगै गाउँलेको दैनिकीमा परिवर्तन आउन थालेको छ । सडक निर्माणले आवागमन सहज बनाउनुका साथै गाउँको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुग्ने उहाँको विश्वास छ । “पहिले सडकको अवस्थाले गर्दा गाउँमा आउन र बाहिर जान निकै कठिन थियो । अहिले गाउँमै कालोपत्र सडक बनेपछि हामीलाई ठूलो राहत मिलेको छ । यसले गाउँको पहिचानसमेत बदल्नेछ भन्ने आशा छ”, उहाँले बताउनुभयो ।

    स्थानीय खुसीराम दुबेले पनि सडक निर्माणले वर्षौँदेखिको समस्या समाधान हुने अपेक्षा व्यक्त गर्नुभयो । “वर्षायाममा हिलो र हिउँदमा धुलोले हैरान हुन्थ्यौँ । गाडी चल्नसमेत समस्या हुन्थ्यो । अब बिरामी पर्दा अस्पताल लैजान र आवश्यक कामले बजार पुग्न सहज हुने आशा पलाएको छ”, उहाँले भन्नुभयो ।

    त्यस्तै, पतिलाल रैदासका लागि सडक विकास आवागमनमा सहजता मात्र नभई गाउँको भविष्यसँग पनि जोडिएको छ । “हाम्रा लागि कालोपत्र सडक भनेको बाटो मात्र होइन, गाउँमा विकास आएको अनुभूति हो । अब हाम्रा छोराछोरीले हामीले भोगेजस्तो दुःख भोग्न नपरोस् भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

    स्थानीय लल्ला खाँले पनि गाउँमा सडक निर्माण हुनु लामो समयदेखिको अपेक्षा पूरा हुनुजस्तै भएको बताउनुभयो । उहाँका अनुसार कालोपत्र सडक बनेपछि सामान्य कामका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने र गाउँमा यातायातका साधन सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । सडकको पहुँच बढेसँगै गाउँमा व्यापार व्यवसाय विस्तार हुने, कृषि उत्पादनले बजार पाउने र स्थानीयको जीवनस्तरमा सुधार आउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

    स्थानीयवासीका अनुसार सडक निर्माणले बालबालिकालाई विद्यालय जान, ज्येष्ठ नागरिक तथा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न र किसानलाई कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुनेछ । यसअघि सडककै कारण समयमा उपचार नपाउने, वर्षायाममा यातायात अवरुद्ध हुने र दैनिक उपभोग्य सामग्री ओसारपसारमा बढी खर्च गर्नुपर्ने समस्या भोग्दै आएका स्थानीयमा अहिले सडक बनेपछि नयाँ उत्साह थपिएको छ ।

    विगतमा सडक, यातायात र अन्य पूर्वाधारको अभाव झेल्दै आएको पूर्वी बाँकेको जनजीवन पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको छ । सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा लगानी बढाएका छन् । प्रदेश र सङ्घीय सरकारका योजनासमेत कार्यान्वयनमा आउँदा ग्रामीण बस्तीलाई मुख्य सडकसँग जोड्ने क्रम तीव्र बनेको छ । त्यसको प्रभाव राप्तीसोनारी गाउँपालिकाका ग्रामीण बस्तीमा पनि देखिन थालेको छ ।

    राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुका अनुसार वडाका विभिन्न बस्तीमा सडकको पहुँच विस्तार भएको छ । विगतमा सडक सुविधाबाट वञ्चित रहेका बस्तीमा समेत सडक निर्माण भएपछि अहिले वडाका सबै बस्तीमा कच्ची सडकको पहुँच पुगेको उहाँले बताउनुभयो । कालोपत्र हुन बाँकी सडकमा पनि क्रमशः स्तरोन्नति तथा कालोपत्रको काम अघि बढिरहेको उहाँको भनाइ छ ।

    वडाध्यक्ष थारुका अनुसार गेन्दवा, भर्था, फत्तेपुर र पिप्रहवा गाउँलाई जोड्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल सम (पीएस) सहित उक्त सडक निर्माणमा छ करोड ५२ लाख ३३ हजार ३८८ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

    विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीलाई कालोपत्र सडक निर्माणले ठूलो राहत पुगेको छ । सडक बनेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न तथा बिरामीलाई अस्पताल लैजान सहज हुने अपेक्षा गरिएको छ । यसले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरण, स्थानीय व्यापार व्यवसायको प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

    वडाध्यक्ष थारुले निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’को पहलमा सडक कालोपत्र गर्ने योजना अघि बढाउन सहयोग पुगेको बताउनुभयो । उहाँका अनुसार २०८२ मङ्सिर २ गते सम्झौता भएको सडक निर्माणको काम २०८४ जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनी सक्षम निर्माण सेवा प्रालिले निर्धारित समयभन्दा अगावै काम पूरा गरेको हो ।

    निर्धारित समयभन्दा अगावै सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासीले समेत राहत महसुस गरेका छन् । लामो समयदेखि विकासका आधारभूत पूर्वाधारको प्रतीक्षामा रहेका स्थानीयका लागि यो सडक गाउँको विकास यात्रामा महत्वपूर्ण उपलब्धि बनेको छ ।

    चार दशकअघि दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत दिनभर पैदल यात्रा गर्नुपर्ने फत्तेपुरमा अहिले कालोपत्र सडक विस्तार हुनु स्थानीय पूर्वाधार विकासको उल्लेखनीय परिवर्तन हो । विगतको कष्टकर जीवन भोगेका पुस्ताका लागि गाउँमा देखिएको यो परिवर्तन सडक निर्माणमा मात्र सीमित छैन । सहज आवागमन, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच, कृषि उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तारको नयाँ सम्भावनासँग पनि जोडिएको छ ।

    स्थानीयवासीका लागि सडक कालोपत्र हुनु विकासको सुरुवात मात्र हो । अब सडकसँगै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, विद्युत्, खानेपानी र रोजगारीका अवसरसमेत विस्तार हुने अपेक्षा उनीहरूले गरेका छन् । हिजो गाउँ छाडेर सुविधा खोज्नुपर्ने बाध्यता भोगेका स्थानीय अहिले आफ्नै गाउँमा विकासका पूर्वाधार थपिँदै गएको देखेर उत्साहित छन् । फत्तेपुरमा फेरिँदै गएको विकासको यो चित्रले दुर्गम बस्तीमा पूर्वाधार पुगेपछि स्थानीयको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

  • ९ मंसिर २०८३, मंगलवार ०७:२५ प्रकाशित

  • Nabintech