कोहलपुरमा सुरक्षित वैदेशिक रोजगारीबारे समुदायस्तरमै अभिमुखीकरण कार्यक्रम सञ्चालन

  • नमस्ते कर्णाली

  • २५, माघ २०८१
    बाँके ।पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएको छ। विशेष गरी बेरोजगारीको समस्या बढ्दै जाँदा ग्रामीण क्षेत्रका युवाहरू विदेश जान बाध्य भएका छन्। तर, रोजगारीका क्रममा थुप्रै नेपाली युवाहरू गन्तव्यमा पुगेपछि विभिन्न दुःख र समस्यामा परेका खबरहरू आउने गरेका छन्। वैदेशिक रोजगार सुरक्षित बनाउने उद्देश्यले कोहलपुर नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत समुदायस्तरमै जानकारी दिने अभियान तीव्र पारिएको छ।
    कोहलपुर नगरपालिकाका १५ वडाका विभिन्न बस्तीहरूमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन भइरहेको छ। रोजगार सेवा केन्द्र कोहलपुरको आयोजनामा गरिएको यो अभियानले सम्भावित वैदेशिक कामदारलाई आवश्यक न्यूनतम सूचना, सेवा र सरोकारवालाहरूको सम्पर्क ठेगाना उपलब्ध गराउने लक्ष्य राखेको छ।
    रोजगार सेवा केन्द्रका रोजगार संयोजक आशिष वर्माले वैदेशिक रोजगारी सुरक्षित बनाउने अभियानबारे जानकारी दिँदै भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने सम्भावित आप्रवासी, तिनका परिवार तथा फर्केर आएका व्यक्तिहरूलाई सुरक्षित र लाभदायक रोजगारीका उपायबारे जानकारी दिन आवश्यक छ। हाम्रो टिमले बस्तीबस्तीमा पुगेर चेतना अभिवृद्धि गराइरहेको छ, जसले ठगी तथा अन्य समस्याबाट बच्न मद्दत गर्छ।”
    संयोजक वर्माका अनुसार, वैदेशिक रोजगारीका लागि उचित पूर्वतयारी र योजनाको अभावले गर्दा धेरै नेपालीले सोचेजस्तो प्रतिफल प्राप्त गर्न सकेका छैनन्। त्यसैले, कम्तीमा आधारभूत सीप सिकेर मात्र विदेश जान प्रेरित गर्न यो अभियानले सहयोग गर्नेछ।
    सामी कार्यक्रमका स्वयंसेवक मानबहादुर वली र बसन्ती डाँगीले समुदायस्तरमा पुगेर सुरक्षित वैदेशिक रोजगारीका विभिन्न पक्षबारे जानकारी दिने कार्य गरिरहेका छन्। हालसम्म कोहलपुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२ र १३ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। बाँकी वडाहरूमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने रोजगार सेवा केन्द्रले जनाएको छ।

  • २५ माघ २०८१, शुक्रबार १५:३४ प्रकाशित

  • Nabintech