४, फाल्गुन २०८१
बाँके ।बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीकी लक्ष्मी पुनको चितुवाको आक्रमणमा परी मृत्यु भएको सात महिनापछि लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।
खजुरा गाउँपालिकाको पहलमा प्रदान गरिएको उक्त राहत रकम गाउँपालिकाका पदाधिकारीहरूले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा स्थानीय जनप्रतिनिधिहरूले पीडित परिवारलाई आवश्यक थप सहयोगको प्रतिबद्धता जनाएका छन्।
गत भदौ ३० गते चितुवाको आक्रमणमा परेर लक्ष्मी पुनको निधन भएपछि उनका परिवार आर्थिक समस्यामा परेका थिए। सात महिनापछि भए पनि सरकारले राहत उपलब्ध गराएपछि परिवारलाई केही राहत भएको स्थानीयवासी बताउँछन्।
चितुवा आक्रमणबाट पीडित परिवारलाई राहत उपलब्ध गराउने सरकारको पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले भविष्यमा यस्ता घटनामा तत्काल राहत र सुरक्षा उपायहरू प्रभावकारी बनाउन आग्रह गरेका छन्।