१८, फाल्गुन २०८१
बाँके ।पश्चिम नेपालको सबैभन्दा ठूलो मुस्लिम धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले इस्लाम धर्मावलम्बीहरूको आजदेखि सुरु भएको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमा रमजानले आपसी सहिष्णुता, आत्मीयता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्व प्रवर्द्धन गर्ने उल्लेख गरेका छन्।
त्यसैगरी, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले पनि शुभकामना सन्देश जारी गर्दै नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय विविधतायुक्त मुलुक भएको स्मरण गराए। उनले नेपालको संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेको बताउँदै रमजान पर्वले नेपालको धार्मिक विविधतालाई अझ मजबुत बनाउने उल्लेख गरे।
इस्लाम धर्मअनुसार रमजान महिनाभर रोजा (व्रत) बस्ने परम्परा रहेको छ। यस पर्वले सत्मार्गमा डोर्याउने, संयम, सहनशीलता, परोपकार र सदाचारको अभ्यास गराउने विश्वास गरिन्छ।
शुभकामना सन्देशमा मुस्लिम समुदायलाई रमजान पर्व शान्ति, सद्भाव र भव्य रूपमा मनाउन आह्वान गरिएको छ।