२१, फाल्गुन २०८१
बाँके ।कोहलपुर नगरपालिकाले तिलगंगा आँखा अस्पतालको सहकार्यमा आयोजना गरेको नि:शुल्क आँखा स्क्रिनिङ तथा शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ। उक्त शिविरमा १,६०० भन्दा बढी बिरामीको आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो भने ४४२ जनाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
नगरपालिकाले पहिलो पटक यति ठूलो संख्यामा एकैपटक नि:शुल्क आँखा परीक्षण, औषधि वितरण तथा शल्यक्रिया सेवा प्रदान गरेको हो। बिरामीहरूको सुविधाका लागि खानपानदेखि घरसम्म पुर्याउने व्यवस्था समेत गरिएको थियो।
नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरवासीको स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सक टोली, नगर स्वास्थ्यकर्मीहरू तथा जनप्रतिनिधिहरूलाई सफल कार्यक्रम सञ्चालन गरेकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।
शल्यक्रिया गराएका बिरामीहरूको दीर्घकालीन स्वास्थ्यको ख्याल राख्दै नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता जनकल्याणकारी स्वास्थ्य सेवाहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।