२२, फाल्गुन २०८१
सरला सुवेदी
बाँके ।कोहलपुर नगरपालिका, बाँकेले ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गर्ने भएको छ। “सबै महिला तथा बालिकाहरूका लागि अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ फागुन २४ गते विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको बैठक निर्णयअनुसार, यस क्षेत्रका सम्पूर्ण महिला सहकारी, महिला समूह, आमा समूह, महिला संघ, तथा सरोकारवाला निकायहरूलाई दिवसको कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिएको छ। नगरपालिकाले महिला भलिबल प्रतियोगिता, ह्विलचेयर दौड प्रतियोगिता, कुर्सी दौड तथा प्रभातफेरी जस्ता कार्यक्रमहरू आयोजना गर्ने भएको छ।
महिला भलिबल प्रतियोगितामा सहकारी संस्थामा आवद्ध महिलाहरू, व्यवसायी महिलाहरू, शिक्षण पेशामा संलग्न महिलाहरू, सञ्चार तथा पत्रकारिता क्षेत्रमा कार्यरत महिलाहरू, राजनीतिमा सक्रिय महिलाहरू तथा महिला कर्मचारीहरूको टिम सहभागी गराइनेछ। खेलमा भाग लिन चाहने टिमहरूले फागुन २३ गते बिहानसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ। नगरपालिकाले खेलाडीहरूका लागि खेल पोशाक तथा सहभागी सबैका लागि खाजा खानाको व्यवस्था गर्नेछ। विजेताहरूलाई उचित पुरस्कार प्रदान गरिनेछ।
नगरपालिकाले सम्पूर्ण महिलाहरूलाई यस अवसरमा सहभागी भई ११५औं अन्तर्राष्ट्रिय महिला दिवसलाई भव्य रूपमा मनाउन आग्रह गरेको छ।