२८, फाल्गुन २०८१
अछाम ।अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा आस्था नेपाल र वर्ल्ड भिजन द्वारा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना मार्फत विभिन्न सामाजिक सशक्तिकरण कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसैक्रममा, वडा कार्यालयको आयोजनामा आस्था नेपाल र वर्ल्ड भिजनको सहयोग तथा सहजीकरणमा प्रत्येक महिना बाल अधिकार समितिको बैठक आयोजना हुने गरेको छ।
आज सम्पन्न बाल अधिकार समितिको बैठकमा साविकका टोलहरूमा जोखिममा रहेका परिवारहरू पहिचान गर्ने, बाल संरक्षणका उपायहरू, बालबालिकामा लगानीको महत्त्व, जोखिममा परेका बालबालिकाहरूलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा समुदायसँग छलफल तथा अन्तरक्रिया गरियो। कार्यक्रमको सहजीकरण आस्था नेपालका सामाजिक परिचालक सुशील बटाला ले गरेका थिए।
वडा कार्यालयले बाल अधिकार समितिको बैठक प्रत्येक टोलमा गएर सञ्चालन गर्ने नयाँ अभ्यास सुरु गरेको छ। यसै क्रममा, आजको बैठक साविकको वडा नम्बर २ मा बसी समुदायकै सहभागितामा आर्थिक रूपमा कमजोर लाल बिक र पवि बिकको ८ वर्षीय छोरा विकास बिकलाई आस्था नेपाल र वर्ल्ड भिजनमार्फत १० हजार बराबरको खाद्यान्न, शैक्षिक सामग्री तथा लत्ताकपडा सहयोग प्रदान गरियो।
छलफलकै क्रममा, विकास बिकको परिवारमा नागरिकता नबनेको जानकारी प्राप्त भएपछि वडा अध्यक्ष कमल रावल ले तत्काल समन्वय गरी इलाका प्रशासन कार्यालयमार्फत घरमै नागरिकता हस्तान्तरण गर्ने व्यवस्था मिलाए। यसअघि पनि अध्यक्ष रावलले अपाङ्ग परिचय पत्र वितरण जस्ता नागरिक अधिकारसम्बन्धी कार्य गर्दै आएका थिए।
कार्यक्रममा नायब सुब्बा मन बहादुर सिजापाति ले बाल संरक्षण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। साथै, प्रशासन कार्यालयका सहयोगी दिनेश राज अधिकारी ले नागरिकता वितरण कार्यमा सहयोग गरेका थिए। यस नवीन अभ्यासले दुर्गम क्षेत्रका असहाय बालबालिकाहरूको शिक्षादीक्षामा योगदान पुग्ने विश्वास गरिएको छ।