स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आग्रह

  • नमस्ते कर्णाली

  • ११, चैत्र २०८१

    बाँके ।नेपाल पत्रकार महासङ्घ बाँके शाखाले स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार माध्यमलाई नै प्रदान गर्न आग्रह गरेको छ।

    शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्ला वर्षहरूमा सञ्चार माध्यमहरूमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमको प्रवर्द्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्नुपर्ने माग गरेको हो। बैठकले स्थानीय सञ्चारमाध्यमहरूलाई सशक्त बनाउन ‘प्रोत्साहन नीति’ अवलम्बन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

    साथै, महासङ्घ बाँके शाखाले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दै सञ्चार संस्थाहरूलाई ऐनअनुसार नियुक्ति पत्र, सेवा सुविधा र नियमित पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको छ।

    बैठकले महासङ्घ बाँके शाखाको सूचना अधिकारीको जिम्मेवारी महासङ्घ बाँकेका सचिव कृष्ण ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ। साथै, शाखाको आधिकारिक वेबसाइट निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै चाँडै निर्माण कार्य अघि बढाइने जानकारी गराइएको छ।

    यस्तै, नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते-पात्रो (क्यालेन्डर) प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको छ। उक्त कामका लागि उपाध्यक्ष करुणा शाहको संयोजकत्वमा सात सदस्यीय ‘भित्ते-पात्रो प्रकाशन समिति’ गठन गरिएको छ। समितिमा सचिव कृष्ण ओली, कोषाध्यक्ष सुनिल रेग्मी, सदस्यहरू कृष्ण अधिकारी, पहल बहादुर केसी, आशा परियार र सलामत अली सहभागी छन्।

    सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महासङ्घ बाँके शाखाले ‘पत्रकार उपचार कोष’ र ‘पत्रकार कल्याण कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ। नेपालगञ्जस्थित एभरेष्ट बैङ्कमा रहेको महासङ्घको चालू खातामा मौज्दात ४,०४,४५०.२५ रुपैयाँ उक्त कोषमा रूपान्तरण गरिनेछ। साथै, अघिल्लो कार्यसमितिका पालामा उठ्नुपर्ने बाँकी बक्यौता रकम उठाएर ती कोषमा दाखिला गरिने निर्णय गरिएको छ।

    महासङ्घ बाँके शाखाले स्थानीय सञ्चार माध्यमहरूको सुदृढीकरणका लागि सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताएको छ।

  • १० चैत्र २०८१, सोमबार ०६:२४ प्रकाशित

  • Nabintech