४, बैशाख २०८२
हुम्ला। हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजार र मुगुको सोरु गाउँपालिका–३ बैन्या क्षेत्रमा आज बिहान परेको भीषण वर्षा र असिनापछि आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण घर, पसल, गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको जनाइएको छ।
अदानचुलीमा ३६ बाख्राको मृत्यु, दर्जनौं पसल र घर डुबानमा
अदानचुली–३ का आइते बुढाको गोठमा बाढी पस्दा ३६ बाख्रा मरेका छन् भने अन्य ३४ वटा बाख्रा जिवित उद्धार गरिएको छ। यस्तै, श्रीनगर बजारमा रहेको अमृत बुढाको पसल पूर्णरूपमा बगाएको छ भने बुद्धि महतारा लगायतका अन्य व्यवसायीका पसलहरूमा समेत ठुलो क्षति भएको छ। बजार क्षेत्रमा रहेका १० भन्दा बढी घर र पसलहरूमा लेदो पसेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिनुभयो।
स्थानीयका अनुसार, श्रीनगर बजारका ११ पसलमा बाढीले क्षति पुर्याएको छ भने सुरक्षाकर्मीको सक्रियतामा पसलबाट बगाएका सामग्रीहरू लेदोबाट निकाल्ने प्रयास भइरहेको छ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बाढीका कारण ठुलो क्षति भएको बताउँदै अहिले प्रहरीले विस्तृत विवरण संकलनको कार्य जारी राखेको जानकारी दिनुभयो। उहाँले अनियन्त्रित रूपमा गरिएको सडक निर्माणले बाढीको जोखिम अझ बढाएको बताउनुभयो। गाउँमाथिबाट बनाइएको सडकको कारण लेदो र भेल गाउँसम्म पसेको छ।
मुगु बैन्यामा खेतबारी बगायो, कर्णालीमा मिसियो लेदो
यसैबीच, मुगुको सोरु गाउँपालिका–३ बैन्यामा पनि वर्षासँगै आएको बाढीले खेतीयोग्य र बाँझो जमिनमा गम्भीर क्षति पुर्याएको छ। चिरा चिरा परेको जमिनबाट बगेको लेदो कर्णाली नदीमा मिसिएको छ। यसले त्यहाँको कृषि प्रणालीमा समेत दीर्घकालीन असर पार्ने देखिएको छ।
स्थानीयवासीले तत्काल राहत, पुनःस्थापना र दिगो योजना अनुसारको पूर्वाधार विकासको माग गरेका छन्। जलवायु परिवर्तनको प्रभाव र अराजक विकास गतिविधिले ग्रामीण क्षेत्रहरू अझ जोखिममा पारिरहेको यथार्थ देखिएको छ। हाललाई प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन भैरहेको र स्थानीय प्रशासन तथा सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापनमा जुटिरहेको छ।