१८, बैशाख २०८२
बर्दिया ।बर्दिया जिल्लामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरेको छ। जिल्लाको सदरमुकाम गुलरिया नगरपालिका प्रवेशद्वार मानिने भादापुल क्षेत्रको नेपालगन्ज–गुलरिया मुख्य सडक खण्डमा उक्त क्यामेरा स्थापना गरिएको हो।
यो सिसी क्यामेरा विशेष प्रकारको प्रविधिबाट सुसज्जित छ, जसले सवारी साधनको नम्बर प्लेट सजिलैसँग रिड गर्नसक्छ, साथै ती सवारीका स्पष्ट फोटो पनि खिच्नसक्छ। विशेष गरी घण्टाको १८० किलोमिटरको गतिसम्म गुड्ने सवारीहरूको गति, नम्बर र दृश्य खिच्ने क्षमतायुक्त यस्ता क्यामेराले सवारी दुर्घटना नियन्त्रणमा उल्लेख्य योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवले १० लाख रुपैयाँ बजेट विनियोजन गरेर बर्दियामा पहिलोपटक यस्ता प्रविधियुक्त सिसी क्यामेरा जडान गरिएको जानकारी दिए। उनका अनुसार यो प्रविधि न केवल सवारी दुर्घटनाको निगरानीमा उपयोगी हुने छ, तर अपराध नियन्त्रणमा समेत प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै अपराधको शैली पनि बदलिंदै गएको उल्लेख गर्दै प्रविधिमैत्री सुरक्षानीति अवलम्बन गर्नु आजको आवश्यकता भएको बताइन् उनले थपिन्, “यस किसिमको प्रविधि प्रयोगले अपराध र दुर्घटना दुवै न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्नेछ।”
सडक सुरक्षाका सवालमा बोल्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार खनालले नेपालमा वार्षिक करिब २५ सय नागरिकले सवारी दुर्घटनामा ज्यान गुमाइरहेको उल्लेख गर्दै यस्ता आधुनिक उपकरणको प्रयोगले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन। उनले सडक निगरानी कार्य जिल्ला प्रहरी कार्यालयले गर्ने जानकारी पनि दिएकि थिइन् ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वभर वार्षिक १३ लाख मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन्। त्यही सन्दर्भमा बर्दियाको गुलरियामा गरिएको यो प्रविधिमैत्री पहल सवारी सुरक्षातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
स्थानीय प्रशासन, नगरपालिका र सुरक्षानिकायको सहकार्यमा जडान गरिएको यो सिसी क्यामेरा अब सडक सुरक्षाको अभिन्न हिस्सा बन्ने अपेक्षा गरिएको छ।