२१, बैशाख २०८२
बर्दिया। बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–८ मा महिलाहरूको पहलमा चार वर्षअघि स्थापना गरिएको ढाका उद्योग आर्थिक संकटका कारण बन्द हुने अवस्थामा पुगेको छ। कालिका महिला उद्यमी समूहले सञ्चालन गर्दै आएको यो उद्योगले सुरुवाती समयमा कुर्ता, सुरुवाल, सर्ट, पछ्यौरा, चोली जस्ता सामग्री उत्पादन गर्दै आएको थियो। तर अहिले उत्पादन घट्दै सारीमा मात्र सीमित हुन पुगेको छ।
एक समय १३ जना महिलालाई रोजगारी दिएको उद्योगमा हाल जम्मा पाँच जना मात्रै काम गरिरहेका छन्। बर्दियादेखि काठमाडौँसम्म ढाकाका उत्पादनहरू पठाइने उद्योगको बजार पनि अहिले संकुचित बन्दै गएको छ।
समूहकी अध्यक्ष नीलम गौतमले आर्थिक अभावका कारण उद्योग धरासायी बन्ने अवस्थामा पुगेको बताउँदै, स्थानीय सरकारले समेत साथ नदिएको गुनासो गर्नुभयो। “गाउँ सभाबाट बजेट छुट्याइएको थियो, तर वर्षभरि पैसा आउन सकेन,” उहाँको भनाइ थियो।
समूहकी सचिव बबिता पुनमगरका अनुसार महिला मिलेर पश्चिम नेपालमै ढाका उत्पादनमा अवसर खोजिएको थियो, तर स्थानीय तहबाट सहयोग नपाउँदा उत्पादन घटाउन बाध्य भएको बताउनुभयो।
ढाका उद्योग रहेको वडा नं. ८ का वडाध्यक्ष तेजनाथ पौडेलले वडाबाट चालु आर्थिक वर्षमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको भए पनि अहिलेसम्म रकम भुक्तानी हुन नसकेको स्वीकार गर्नुभयो।
स्थानीय स्रोत, सहयोग र बजार विस्तारको अभावमा महिलाहरूको उत्साह र आत्मनिर्भरताको प्रतीक बनेको यो उद्योग संकटमा पर्दा, महिला उद्यमशीलताको भविष्य पनि अन्योलमा परेको छ।