२१, बैशाख २०८२
बाँके । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले बाल विवाह नेपाली समाजको विकासमा बाधक भएको बताउँदै बर्दियाको मधुवन नगरपालिका–८ लाई औपचारिक रूपमा बाल विवाहमुक्त वडा घोषणा गर्नुभएको छ।
विशेष समारोहमा मन्त्री तिमिल्सिनाले वडालाई बाल विवाहमुक्त घोषणा गर्दै नेपाललाई बाल विवाहमुक्त बनाउने जिम्मेवारी सबैको भएको उल्लेख गर्नुभयो। उहाँले बाल विवाह अन्त्यका लागि स्थानीय तहको सक्रियता अपरिहार्य भएको बताउँदै भन्नुभयो, “बिस्तारै सम्पूर्ण वडा घोषणा गर्दै पालिकालाई नै बाल विवाहमुक्त बनाउने शुभकामना व्यक्त गर्दछु।”
मधुवन नगरपालिका–८ दोस्रो वडा हो, जुन बाल विवाहमुक्त घोषणा गरिएको हो। यसअघि वडा नम्बर ४ लाई पनि बाल विवाहमुक्त घोषणा गरिसकिएको छ।
मन्त्री तिमिल्सिनाले किशोरीहरूको अकाल मृत्यु, मातृ मृत्युदर वृद्धि र सामाजिक समस्याहरूको जरो बाल विवाह भएकाले यसको अन्त्यका लागि प्रदेश सरकारले समुदायसँग हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
घोषणा कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, प्रदेशसभा सदस्य कुल प्रसाद पोखरेल, वडा अध्यक्ष मेकबहादुर गुरुङ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारण तथा सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो।
प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बिग्रुप) बाँके, युनेस्को क्लब बाँके लगायत संस्थाहरूको सहकार्यमा स्थानीय सरकारको अगुवाइमा घर–घर सर्भे, जनचेतनामूलक कार्यक्रम र सांस्कृतिक झाँकीमार्फत अभियानलाई अघि बढाइएको थियो।
नेपाल सरकारको २०३० सम्म देशलाई बाल विवाहमुक्त बनाउने राष्ट्रिय रणनीतिअनुसार मधुवन नगरपालिकालाई सन् २०८३ भित्र बाल विवाहमुक्त बनाउने लक्ष्यसहित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।