१३२ केभी प्रसारण लाइन विस्तार पुनः सुरु : कर्णालीको समृद्धिमा विद्युत् पूर्वाधारको ठुलो पाइला

  • नमस्ते कर्णाली

  • २१, बैशाख २०८२
    बाँके। कर्णाली प्रदेशको ऊर्जा आवश्यकतासँग प्रत्यक्ष जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको काम पुनः सुरु गरिएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको बाँकेको बानियाभार खण्डमा शनिबारदेखि कडा सुरक्षा व्यवस्थाका बीच निर्माण कार्य अघि बढेको हो।

    प्रदेश सरकारले लुम्बिनी प्रदेश, स्थानीय प्रशासन, राजनीतिक दल, सरोकारवाला निकाय र सुरक्षा संयन्त्रबीच समन्वय गरेपछि आयोजनाका कर्मचारी र प्राविधिकहरूले पुनः कार्य थालेका हुन्। बाँकेको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार लामो समयदेखि मुआब्जा सम्बन्धी मागका कारण प्रभावित बानियाभार क्षेत्र अब सुरक्षाको सुनिश्चिततासहित निर्माणको चरणमा फर्किएको हो।

    हाल सञ्चालनमा रहेको ३३ केभी प्रसारण लाइन ‘ओभरलोडेड’ भएकाले बारम्बारको अवरोध, उपकरणको जीर्ण अवस्था र अस्थिर आपूर्तिले सुर्खेतसहित कर्णालीका धेरै जिल्लामा विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ। सानो हावाहुरी र वर्षा हुँदा समेत पोल ढल्ने र लाइन अवरुद्ध हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार, १३२ केभी क्षमताको नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि अहिलेका सबै प्राविधिक समस्या समाधान हुनेछन्। करिब ७० करोड लागतको यस आयोजनामा हालसम्म १६२ मध्ये १५३ वटा टावर निर्माण भइसकेका छन्। बाँकी कार्य साउन महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका प्रमुख रविकुमार चौधरीले जानकारी दिनुभयो।

    “यो आयोजना कर्णालीको आर्थिक विकासको मेरुदण्ड हो,” प्रमुख चौधरीले भन्नुभयो, “ऊर्जा आत्मनिर्भरता हासिल गर्न र क्षेत्रीय औद्योगिक तथा सामाजिक पूर्वाधारमा नयाँ गति दिन यो परियोजना निर्णायक बन्नेछ।”

    बिजुलीको अभावले विकास निर्माण, उद्योग, स्वास्थ्य, शिक्षा र सञ्चारजस्ता अति आवश्यक सेवामा प्रतिकूल असर पारिरहेको अवस्थामा १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि विद्युत् आपूर्तिको गुणस्तरमा सुधार आउने मात्र होइन, विद्युत् पहुँचविहीन क्षेत्रमा समेत विद्युतीकरण विस्तार हुने अपेक्षा गरिएको छ।

     

     

  • २१ बैशाख २०८२, आईतवार ११:४८ प्रकाशित

  • Nabintech