भेरी अस्पतालमा जलेका बिरामीका लागि छुट्टै जलन वार्ड सञ्चालन, थालसेमिया रोगीलाई निःशुल्क खोप अभियान सुरु

  • नमस्ते कर्णाली

  • २२, बैशाख २०८२
    बाँके । भेरी अस्पताल नेपालगन्जले जलेका बिरामीका लागि छुट्टै जलन वार्ड सञ्चालनमा ल्याएको छ। यसअघि गम्भीर जलन भएका बिरामीलाई सामान्य उपचारपश्चात काठमाडौं रिफर गर्दै आएको भेरी अस्पतालले अब आवश्यक जनशक्ति र पूर्वाधारसहित ६ शैयाको छुट्टै वार्डमार्फत जलन उपचार सुरु गरेको हो।

    भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले जलन वार्ड सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार अब जलेका बिरामीलाई अस्पतालमै समुचित उपचार गर्न सकिनेछ। “हामीले सर्जिकल र मेडिकल आवश्यकताअनुसार छुट्टाछुट्टै वार्ड थप्दै स्वास्थ्य सेवा विस्तार गरिरहेका छौं,” डा. सुवेदीले बताउनुभयो।

    हालै भेरीले अर्थोपेडिक पोस्ट अपरेटिभ वार्ड, जनरल पोस्ट अपरेटिभ वार्ड, सर्जिकल र मेडिकल आइसियू, सर्जिकल वार्ड, इएनटी तथा युरोलोजी वार्ड, र पोस्ट ट्रान्सप्लान्ट आइसियूसमेत थप गरी सेवामा गुणस्तरात्मक सुधार ल्याएको छ।

    यही क्रममा अस्पतालले सिकलसेल र थालसेमिया रोगीहरूलाई लक्षित गर्दै निःशुल्क खोप अभियान पनि सुरु गरेको छ। भारत सरकारको सहयोगमा प्राप्त खोपमार्फत विशेषगरी थारु समुदायमा बढी देखिने सिकलसेल जनस्वास्थ्य समस्याबाट बिरामीहरूलाई बचाउने उद्देश्य राखिएको छ।

    यी दुवै सेवाको उद्घाटन तथा हस्तान्तरण लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नुभयो। सो अवसरमा मन्त्री पौडेलले प्रदेश सरकारले जनस्वास्थ्य सेवा ऐन प्रस्ताव गरिसकेको जानकारी दिनुभयो। “अब प्रदेशले लोकसेवामार्फत अस्पताल तोकेर विज्ञापन गरी दक्ष जनशक्ति ल्याउने कार्य अघि बढाउनेछ,” उहाँले भन्नुभयो।

    कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पतालमा भइरहेका सेवा विस्तार, उपलब्ध स्रोतसाधन र विद्यमान समस्याहरूका बारेमा मन्त्री पौडेललाई जानकारी गराउनुभयो।

    अस्पतालमा जलेका बिरामीका लागि विशेष उपचार सेवा थपिनुले बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, सल्यानलगायतका जिल्लाका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, सिकलसेल तथा थालसेमिया बिरामीका लागि सुरु गरिएको निःशुल्क खोपले जनस्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

  • २२ बैशाख २०८२, सोमबार १२:०५ प्रकाशित

  • Nabintech