२३, बैशाख २०८२
जुम्ला। गुठिचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन्। वडा अन्तर्गत नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मनि गाउँका बासिन्दा स्थानीय अदालिखोला लघु जलविद्युत आयोजना बन्द भएपछि बिजुलीविहीन जीवन बिताइरहेका छन्।
स्थानीय परेक ऐडिका अनुसार, गएको फागुनदेखि ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको हो। “बालबालिकाको पढाइ प्रभावित भएको छ, झरो र टुकीको भरमा बसेका छौं,” उनले भने।
मोबाइल चार्जदेखि खाना पकाउने चुलो, कुटानीपिसानी, फर्निचर उद्योगसमेत प्रभावित भएका छन्। सोलार भएको घरमा मोबाइल चार्ज गर्न जाने बाध्यता थपिएको छ।
अदालिखोला जलविद्युत आयोजना २०७५ सालमा निर्माण भएको हो। आयोजनाका अध्यक्ष जितेन्द्र लामाका अनुसार आर्थिक अभावका कारण बिग्रेको जेनरेटर र ट्रान्समिटर मर्मत हुन सकेको छैन। “७ लाखदेखि १२ लाख लाग्न सक्छ, तर स्रोत जुटेको छैन,” उनले बताए।
वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार, जलविद्युत मर्मतका लागि स्थानीय सरकारले सुरुमा ७ लाख रुपैयाँ विनियोजन गरे पनि पछि घटाएर ३ लाखमा सीमित गरेको छ। उनले हालसम्म साढे २ लाख खर्च भइसकेको जानकारी दिए।
स्थानीय सरकारले मर्मत गर्ने वाचा गरे पनि अहिलेसम्म पहल नगरेको भन्दै स्थानीयमा आक्रोश बढ्दो छ। मर्मतको अभावमा उज्यालोबाट वञ्चित बस्तीले तत्कालीन समस्या समाधानका लागि सरोकारवालाको गम्भीर ध्यानाकर्षण गराएका छन्।