२५, बैशाख २०८२
बाँके ।लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले जेठ ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सोही दिन दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले नीति तथा कार्यक्रममाथिको सुझाव लिने काम सकिएको बताउनुभयो । उहाँले सरकारले आगामी वर्षका लागि जेठ ४ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।
प्रदेश सरकारले पाँचौँ अधिवेशन गत फागुन ७ गतेदेखि अन्त्य गरेको थियो । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ वटा बैठक बसेका थिए । ११ बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित गरेको थियो ।
प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक पनि पाँचौँ अधिवेशनले पारित गरेको थियो ।
यता मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारीका अनुसार लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई लक्ष्य, उद्देश्य अनुकूल बनाउने र कार्यान्वयन पक्षलाई सुदृढ गर्ने उद्देश्यको तयारी भइरहेको छ । सरकारले सबैको अपनत्व हुने गरी नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताउँदै उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटले प्रदेशको वास्तविकता दर्शाउने बताउनुभयो ।