२५ , बैशाख २०८२
बाँके ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास मोडेलमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले नव प्रवर्तनलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइरहेको स्पष्ट गर्नुभएको छ।
बुधबार लमहीमा आयोजित नव प्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहबाट प्रस्तावित परियोजना कार्यक्रम सम्बन्धी संक्षिप्त प्रस्तुतिकरण एवं पूर्ण प्रस्ताव लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, “विकास भनेको केवल भौतिक संरचना निर्माण मात्र होइन। बाटो र पुल बनाउनु मात्रै विकास हो भन्ने सोच अब परिवर्तन गर्नुपर्छ। मानवीय विकास, स्थानीय उत्पादन र आधारभूत वर्गको जीवनस्तरमा सुधार ल्याउनेतर्फ केन्द्रित हुनुपर्छ।”
उहाँले नव प्रवर्तनलाई सरकारको नीतिगत प्राथमिकता बनाउँदै स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। “योजना छनोटदेखि कार्यान्वयनसम्म प्रणालीगत सुधार आवश्यक छ,” मुख्यमन्त्रीले भन्नुभयो, “अब यथार्थपरक र आशा जगाउने बजेट ल्याउने छौं, सस्तो लोकप्रियता होइन।”
मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विभिन्न स्थानीय तहबाट प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका निमित्त सचिव ईश्वरराज पौडेलले स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै समृद्धिको आकांक्षा पूरा गर्न नव प्रवर्तन कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो।
लुम्बिनी प्रदेश सरकारले शैक्षिक सुधार, आर्थिक वृद्धि, सार्वजनिक सेवा प्रवाह, नीति निर्माणदेखि मूल्यांकन र गुनासो व्यवस्थापनसम्मका क्षेत्र समेट्ने गरी नव प्रवर्तन कार्यक्रम अघि बढाएको छ।
प्रदेश र स्थानीय सरकारहरूलाई आर्थिक विकासमा सहकार्य गराउँदै नव प्रवर्तन योजनाहरूलाई गौरवका रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको बताइएको छ।