५, जेष्ठ २०८२
बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको छ। लामो समयदेखिको खडेरीका कारण पानीको मुहानमा कम पानी आउन थालेपछि खानेपानीको अभाव भएको हो।
करिब एक महिना देखि सदरमुकाममा खानेपानीको अभाव हुन थालेको स्थानीय जस बहादुर विकले बताउनुभयो । सदरमुकाममा यसअघिका बर्षहरुमा समेत चैत,बैशाख र जेठ महिनाको खडेरीमा निरन्तर पानीको समस्या हुँदै आएको भए पनि मार्तडी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र बडीमालिका नगरपालिकाको लापरबाहीका कारण त्यसको समाधान हुन नसकेकाले सास्ती ब्यहोर्न परेको स्थानियको गुनासो छ।
यता बडिमालिका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिले भने नगरपालिकाले मार्तडी बृहत् खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै डिभिजन खानेपानी कार्यालयसँग समन्वय गरेर यसै बर्ष भित्र बजार क्षेत्रमा पर्याप्त शुद्ध खानेपानीको आपूर्ति गर्ने गरि प्राबिधिक जनशक्ति परिचालन गरिरहेको बताउनुभयो ।
सुक्खा खडेरीका कारण मुहान सुक्दै गएपछि खानेपानी अभाव हुन थालेको मार्तडी बृहत खानेपानी कार्यालय व्यवस्थापक कर्णबहादुर रावलले बताउनुभयो । मार्तडीका ६ सय घरधुरीमा रहेका ६ सय धारामा हाल एक छाक करिब एक घण्टा जति मात्र पानी दिन सकिएको र यसै बर्ष पानीको समस्या समाधान गर्ने गरि डिभिजन खानेपानी राजपुर डोटिको ५० लाख लागत सहयोगमा झाल्ले नौलाबनबाट पानीको ब्यबस्थापन हुन लागेको ब्यबस्थापक कर्ण रावलको भनाइ छ। हाल झाल्ले नौलाबनबाट करिब ढाइ किलोमिटर तलसम्म लाइन खनेर पानी ल्याइसकिएकाले यही बर्ष भित्र आधुनिक मिटर प्रणालीबाट सदरमुकाम मार्तडीका उपभोक्तालाई पानी दिइने बृहत खानेपानी कार्यालय मार्तडीले जनाएको छ। खानेपानीको चरम अभाव भएपछि स्थानीयलाइ बजार क्षेत्र भन्दा टाढा भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायतका स्थानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ।