डिजिटल पत्रकारिता–एआई अभिमुखीकरणसहित  लुम्बिनी अनलाइन टिभी संघको नयाँ नेतृत्व चयन

  • नमस्ते कर्णाली

  • ६, जेष्ठ २०८२
    बाँके । डिजिटल मिडियाको बढ्दो प्रभाव र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगसँगै पत्रकारितालाई थप व्यवस्थित, व्यावसायिक र आचारसंहिता अनुरूप बनाउने उद्देश्यसहित ‘अनलाइन टिभी पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश’ले आफ्नो पहिलो कार्यसमिति गठन गरेको छ।
    कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले डिजिटल मिडिया आजको युगको आवश्यकता भएको उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले अनलाइन टिभीमार्फत प्रस्तुत हुने सामग्रीलाई अझ प्रभावकारी र विश्वसनीय बनाउन सुझावसमेत दिनुभयो।
    कार्यक्रमको विशिष्ट अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले पत्रकारहरूमा सृजनशीलता अझै महत्वपूर्ण हुने उल्लेख गर्दै अनलाइन टिभीले समाज परिवर्तन र विकासमा योगदान पुर्‍याउने सम्भावना औंल्याउनुभयो।
    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले डिजिटल मिडियामा संलग्न पत्रकारका लागि तालिमहरू सञ्चालन भइसकेको र आगामी दिनमा पनि प्राथमिकता दिने योजना रहेको जानकारी गराउनुभयो। बाँके अध्यक्ष नवीन गिरीले अनलाइन टिभी पत्रकार संघले थालेको आचारसंहिताबारे जानकारी अभियानको प्रशंसा गर्नुभयो।
    कार्यक्रममा एआईको प्रयोगबारे अभिमुखीकरण गराउँदै केन्द्रीय अध्यक्ष जीवन भण्डारीले डिजिटल पत्रकारितामा एआईको प्रयोगले समयको बचत मात्र नभई सामग्रीको गुणस्तरमा पनि सुधार ल्याउने धारणा राख्नुभयो। उहाँले पत्रकारहरूलाई आचारसंहिता र डिजिटल मिडियाको जिम्मेवारीबारे प्रशिक्षण दिँदै देशव्यापी अभियानमा रहेको जानकारी दिनुभयो।
    यस अवसरमा प्रदेशभरका पत्रकारहरूको उपस्थितिमा प्रथम कार्यसमिति गठन गरिएको छ। अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनुभएको छ। उपाध्यक्षमा दीपक न्यौपाने (वरिष्ठ), रञ्जित शाह, सचिवमा सावित्री गिरी, सहसचिवमा मनबहादुर सहकारी, कोषाध्यक्षमा भावना बुढा मल्ल तथा सदस्यहरूमा चन्द्रेश्वर त्रिपाठी, इरफान अली, कुशल विक र स्वेता गिरी चयन हुनुभएको छ।
    बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ, सुदूरपश्चिम र कर्णाली प्रदेशका करिब ६० जना पत्रकारहरूको उपस्थिति रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजकुमार जीटी, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरी लगायतको सक्रिय सहभागिता रहेको थियो।

  • ७ जेष्ठ २०८२, मंगलवार ०८:२५ प्रकाशित

  • Nabintech