मुस्लिम महिलाका लागि नेतृत्व विकास तालिम नेपालगन्जमा सुरु

  • नमस्ते कर्णाली

  • ७, जेष्ठ २०८२
    बाँके । मुस्लिम महिलाहरुको आत्मनिर्भरता र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले नेपालगन्जमा तीन दिने विशेष तालिम सुरु भएको छ। सामाजिक विकास डिभिजन कार्यालय बाँकेको सहयोगमा बास नेपालले आयोजना गरेको उक्त तालिमको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार गर्नुभएको हो।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले मुस्लिम समुदायका महिलाहरू विभिन्न सामाजिक समस्यासँग जुध्न बाध्य रहेको बताउँदै, उनीहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। “अधिकारका लागि आजैदेखि जाग्न जरुरी छ,”उहाँले भन्नुभयो, “समाज रुपान्तरणका लागि आवश्यक तत्वहरू तालिममार्फत् सिक्न सकिन्छ।”

    प्रदेशसभा सदस्य मिना सिद्दिकी बोहराले तालिममा मुस्लिम महिलाको उत्साहजनक सहभागिता देखेर खुशी लागेको बताउँदै भन्नुभयो “हाम्रो समुदायमा गर्न बाँकी काम धेरै छन्, त्यसका लागि हामी आफैं अघि बढ्नुपर्छ।”

    सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख उद्धव प्रसाद श्रेष्ठले तालिमको विषयवस्तु आत्मसात गरी सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

    तालिमको पहिलो दिन प्रशिक्षक मन भण्डारी र कल्पना अधिकारीले महिला अधिकार, महिलावाद, नेतृत्व विकास तथा सकारात्मक सोचका विषयमा सहजीकरण गरेका थिए।

    कार्यक्रम बास नेपालका अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभयो। स्वागत मन्तव्य र तालिमको उद्देश्यबारे जानकारी बास नेपालकी उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले दिनुभएको थियो।

    नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाबाट सहभागी ९० जना मुस्लिम महिलाहरूले तालिममा सक्रिय सहभागिता जनाएका छन्। आयोजक संस्था बास नेपालले रुकुमदेखि बाँकेसम्म महिला हिंसाविरुद्ध अभियान तथा सशक्तीकरणका कार्यक्रमहरू संचालन गर्दै आएको छ।

     

     

  • ८ जेष्ठ २०८२, बुधबार ०६:१८ प्रकाशित

  • Nabintech