अपाङ्गताको सूचीमा नपरेर अन्यायमा परेका अलबिनो व्यक्ति विशेष सुविधा माग गर्दै

  • नमस्ते कर्णाली

  • ८,जेष्ठ २०८२
    बाँके । अलबिनो व्यक्तिहरूले आफूहरू अपाङ्गताको दर्जा पाए पनि औपचारिक रूपमा अपाङ्गताको सूचीमा नपरेको भन्दै राज्यसँग गुनासो गरेका छन्। आत्मसम्मान, शिक्षा, रोजगारी र स्वास्थ्यमा समस्या भोगिरहेका अलबिनो प्रभावितहरूलाई राज्यले विशेष सुविधा दिनुपर्ने उनीहरूको माग छ।

    शरीरमा छालालाई रङ्ग दिने मेलानिन नामक पदार्थको कमीका कारण छाला, कपाल सेतो हुने अवस्थालाई अलबिनो भनिन्छ। यस्तो अवस्थाका व्यक्तिहरूलाई घाममा हिँड्दा छाला पोल्ने, दृष्टि कमजोर हुने जस्ता समस्या हुन्छन्। जसले गर्दा उनीहरूलाई अध्ययन, लेखपढ तथा रोजगारमा समेत असहज हुने गरेको राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल का अध्यक्ष टेकराज जैसी बताउँछन्।

    दैलेख दुल्लु नगरपालिका–८ की भगवती भण्डारी, जो हाल नेपालगञ्जमा बस्दै आएकि छिन् ,उनी भन्छिन, “राज्यले अपाङ्गताको दर्जा त दियो तर सूचीमा समावेश नगर्दा धेरै सेवा–सुविधाबाट वञ्चित छौं।”

    अलबिनो भएका व्यक्तिहरूलाई घाममा हिँड्न अत्यधिक गाह्रो हुने, छालाको संक्रमणको जोखिम उच्च हुने र घामले पोल्दा आगोले पोलेजस्तो अनुभव हुने बताइन्छ। त्यसैले उनीहरूले सनस्क्रिन क्रिम निःशुल्क उपलब्ध गराउनुपर्ने माग राखेका छन्। बाँकेको खजुरा गाउँपालिका–४ की कविता विश्वकर्माले भनिन् “सनस्क्रिन क्रिम अनिवार्य हुन्छ, तर नियमित किन्न सकिँदैन, सरकारले निःशुल्क उपलब्ध गराओस्।”

    अलबिनो संक्रमण कुनै सरुवा रोग नभइ वंशाणुगत समस्या हो। भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा. बद्री चापागाईं भन्छन्, “अलबिनोहरूलाई हेय दृष्टिले होइन, सम्मानका साथ व्यवहार गर्नुपर्छ। उनीहरूका लागि घाम ठूलो समस्या हो, त्यसैले उनीहरूको क्षमता विकासमा राज्यले विशेष ध्यान दिनुपर्छ।”

    नेपालमा हाल करिब ८ देखि १० हजार व्यक्ति अलबिनोबाट प्रभावित रहेको अनुमान गरिएको छ। उनीहरूले अपाङ्गताको सूचीमा समावेश भई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा समान पहुँच सुनिश्चित गरिनु पर्ने आवाज उठाउँदै आएका छन्।

     

     

  • ९ जेष्ठ २०८२, बिहीबार ११:३७ प्रकाशित

  • Nabintech