८, जेष्ठ २०८२
बाँके।बैजनाथ गाउँपालिका–२ नम्बर वडा कार्यालयले सेवा र सुविधा प्रभावकारितासम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। बास नेपालको सहजिकरणमा वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाबासी र सेवा प्रदायक निकायबीच खुला छलफल भएको थियो। छलफलको निष्कर्षमा ६ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो।
सुनुवाइमा उठेका मुख्य सरोकार र प्रतिबद्धतामा आगामी आर्थिक वर्षमा चालु वर्षमा समावेश हुन नसकेका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने, मन्द्रा–कारागार–बौद्ध मन्दिर सडकको स्तरउन्नति गर्न प्रदेश सरकारसँग समन्वय गर्ने, वडामा रहेको खानेपानी समस्याको समाधान गर्ने, जानकी मन्दिरको रंगरोगन र घेराबार कार्य तत्काल अगाडि बढाउने, रिहार टोलमा सडक निर्माणका लागि समुदायको सहमति र निवेदनका आधारमा प्रक्रिया अघि बढाउने तथा निशुल्क नक्सा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाइएको हो।
प्रतिबद्धताहरूमा वडा अध्यक्ष राजु रुचाल ठकुरी, सदस्यहरु भुमिसरा थापा मगर, भुवाने दमाई, शोभा कुमारी थारु, सितादेवी विश्वकर्मा तथा वडा सचिव मदन प्रसाद थारुले हस्ताक्षर गरेका छन्। प्रतिबद्धतालाई सुनुवाइमा सहभागी सरोकारवालाहरूले ताली बजाएर अनुमोदन गरेका थिए।
कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य तथा उद्देश्यमाथि बास नेपालकी शोभा थापा मगरले प्रकाश पारिन्। चालु आर्थिक वर्षका गतिविधि तथा प्रगति विवरण वडा सचिव मदन प्रसाद थारुले प्रस्तुत गरेका थिए।
सुनुवाइमा एक सयभन्दा बढी वडाबासीको सहभागिता रहेको थियो।