९, जेष्ठ २०८२
बुटवलमा डिजिटल पत्रकारिता सम्बन्धी दुई दिने तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बिहीबारदेखि सञ्चालित तालिममा पाल्पा, रुपन्देही र नवलपरासी जिल्लाबाट करिब ७० जना पत्रकारहरूको सहभागिता रहेको छ।
तालिमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले प्रविधिको तीव्र विकाससँगै पत्रकारहरूले पनि आफूलाई अपडेट गर्दै जानुपर्नेमा जोड दिए। उनले विशेषगरी पत्रकारिताको पुरानो पुस्ताले पनि समय अनुसार आफूलाई परिष्कृत गर्दै जानु आवश्यक रहेको धारणा व्यक्त गरे।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौंलागाईंले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि महासंघले तालिम, फेलोशिप लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै चाँडै एक करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने तयारी भइरहेको बताए।
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले वर्तमान युग डिजिटल प्रविधिको युग भएको उल्लेख गर्दै पत्रकारहरूले सूचना प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको भविष्यको बाटो तय गर्नुपर्नेमा जोड दिए।
सञ्चार परिषद् लुम्बिनी प्रदेश अध्यक्ष मिलन गाहाले परिषदलाई सबैको साझा संस्थाको रूपमा बलियो बनाउँदै लैजानुपर्ने बताए।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासचिव पाण्डव शर्मा, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, सञ्चारिका समूह रुपन्देही अध्यक्ष तथा उपाध्यक्ष मिना भट्टराई ढकाललगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।
तालिममा सूचना प्रविधि विज्ञ उज्ज्वल आचार्य र सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रशिक्षण प्रदान गरिरहेका छन्।