लुम्बिनी प्रदेशमा वन डढेलोको जोखिम घट्यो, मानवीय लापरवाही अझै मुख्य कारण

  • नमस्ते कर्णाली

  • ९, जेष्ठ २०८२
    बाँके ।लुम्बिनी प्रदेशमा आगलागी तथा वन डढेलोका घटनामा यस वर्ष उल्लेख्य रूपमा कमी आएको पाइएको छ। प्रदेश वन निर्देशनालयका अनुसार गत वर्ष वैशाख २५ गतेसम्म चार सय २१ स्थानमा डढेलो लागेका थिए भने यस वर्ष जेठ ७ गतेसम्म डढेलोका घटना दुई सय ९३ स्थानमा मात्र सीमित भएका छन्।
    डढेलोको संख्यामा आएको यस कमीको प्रमुख कारण मौसममा देखिएको बदली, वर्षा र विगत वर्षभन्दा कम तापक्रम रहेको बताइएको छ। वरिष्ठ वन अधिकृत डिलाराम पौडेलका अनुसार वर्षको सुरुबाटै योजनाबद्धरूपमा डढेलो न्यूनीकरणमा ध्यान दिइएको थियो जसले पनि सहयोग पुर्‍यायो।
    यस वर्ष लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ डिभिजन वन कार्यालयअन्तर्गत ३९७१.७० हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएका छन्। रूपन्देहीमा २५ स्थानमा ५५६.१ हेक्टर, रुकुमपूर्वमा ६ स्थानमा ११२० हेक्टर, पाल्पामा ६७ स्थानमा ७२६ हेक्टर क्षेत्र डढेलोबाट प्रभावित भएको छ। अन्य जिल्लाहरूमा पनि डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याएको पाइन्छ।
    डढेलोका कारण वनस्पति तथा जनधनमा पनि क्षति पुगेको छ। रूपन्देहीमा १७ सय बोटबिरुवा, रुकुमपूर्वमा ३२७६ बोटबिरुवा नष्ट भएका छन्। डढेलोले अर्घाखाँचीमा दुई घर, एक गोठ, एक शौचालय, एक भैँसी, एक पाडो, नौ बाख्रा, ५९ कुखुरा नष्ट गरेको छ भने प्युठान, दाङ, कपिलवस्तु, बर्दिया, पाल्पा र गुल्मीमा पनि घरगोठ, गोठालाहरू र बोटबिरुवामा क्षति पुगेको छ।
    डढेलो निभाउने क्रममा केही व्यक्ति घाइते भएका छन् भने पाल्पामा एक जनाको ज्यान गएको पुष्टि गरिएको छ। सामुदायिक वनमा आगलागी नियन्त्रणको प्रयासमा स्थानीयहरू सक्रिय भए पनि जोखिमयुक्त परिस्थितिमा उनीहरू घाइते समेत भएका छन्।
    डढेलोको मुख्य कारण भने प्रायः मानवीय गतिविधि नै रहेको पौडेल बताउनुहुन्छ। उहाँका अनुसार ९७ प्रतिशत डढेलो तथा आगलागीका घटना मानवीय लापरवाहीका कारण हुने गरेका छन्, प्राकृतिक कारणले हुने आगलागी भने निकै कम देखिन्छ।
    गत वर्षको तुलनामा यस वर्ष डढेलोका घटनामा कमी आउनुले आशा जागेको भए पनि पूर्ण नियन्त्रणका लागि अझ बढी सचेतना र पूर्वतयारी आवश्यक रहेको वन विज्ञहरूको भनाइ छ। फागुनदेखि जेठसम्मको समय डढेलोको उच्च जोखिमको समय भएकोले आगामी वर्षहरूमा पनि समयमै तयारी गरिनु पर्ने आवश्यकता देखिएको छ।

  • १० जेष्ठ २०८२, शुक्रबार १२:०१ प्रकाशित

  • Nabintech