२२, जेष्ठ २०८२
बाँके ।नेपाल सरकारका कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले फरक जिल्लाका व्यक्तिहरूले अन्य जिल्लामा खोलेका सहकारी संस्थाहरू खारेज गरिने स्पष्ट पार्नुभएको छ।
कोहलपुरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडद्वारा बिहीवार आयोजित “सहकारीकर्मी भेटघाट तथा सदस्य सम्मान कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले सहकारी ऐन, नियम तथा मापदण्डको उल्लंघन गर्दै संचालनमा आएका सहकारी संस्थाले सहकारी क्षेत्रलाई नै संकटमा पारिरहेको बताउनु भयो।
मन्त्री अधिकारीले भन्नुभयो, “व्यक्ति बाँकेको, सहकारी काठमाडौँमा दर्ता, तर कारोबार झापामा—यस्ता प्रवृत्तिले नै सहकारी प्रणालीलाई धरापमा पारेका छन्। स्थानिय निकाय, प्रदेश वा संघ—जहाँ दर्ता भए पनि यस्ता सहकारी खारेज गरिनुपर्नेछ।”
उहाँले सहकारी प्रणालीमा देखिएको समस्याको मूल कारण विषयगत नीति, ऐन र मापदण्डको अवज्ञा भएको बताउँदै, “म जहाँ जान्छु, त्यहाँका सहकारी त राम्रो देखिन्छन्, तर समस्या किन आइरहेको छ भन्ने विषयमा मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ,” भन्नुभयो। उहाँका अनुसार ८० करोड रुपैयाँसम्म अपचलन गर्ने केही सहकारीहरू मात्रै समस्याग्रस्त रहेको उल्लेख गर्दै, गाउँघरमा सानो पुँजी संकलन गरेर सञ्चालनमा आएका सहकारीहरूमा खासै समस्या नदेखिएको स्पष्ट गर्नुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश इन्चार्ज तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धितालको सभाध्यक्षतामा बाँके जिल्लाका सदस्य सहकारी संस्थाहरूका अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य, व्यवस्थापकलगायत करिब ८ दर्जन प्रतिनिधिको उपस्थिति रहेको थियो।
सो अवसरमा आर्थिक वर्ष २०८०/८१ मा कोहलपुर र नेपालगञ्ज शाखाबाट उत्कृष्ट तथा नियमित कारोबार गरेका सहकारी संस्थाहरूलाई सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्ने सहकारीहरूमा राप्तीसोनारीको साकार कृषि सहकारी, कोहलपुरको संकल्प जनसेवा सहकारी, नेपालगञ्जको अग्रगामी सहकारी र कम्दीको साना किसान सहकारी रहेका छन्।
सम्मानित संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्री अधिकारीले खादा र सम्मान–पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओम देवी मल्ल, महासंघका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेश पोखरेल, संचालकहरू काशीचन्द्र बराल, हरिहरनाथ योगी, भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, एकता शाहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोहलपुर शाखा समन्वय समितिका संयोजक पारसनाथ थारुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। सहकारी अभियन्ताहरू ओम देवी मल्ल, रमेश पोखरेललगायतले सहकारी क्षेत्रको समसामयिक अवस्थाबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक कालीबहादुर महताराले गर्नुभएको थियो।