२४, जेष्ठ २०८२
बाँके । पश्चिम नेपालको समग्र पर्यटन र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्ज–दिल्ली सीधा हवाई उडान सुरु गर्नुपर्ने विषयमा नेपालगञ्जमा बृहत् छलफल सम्पन्न भएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाइमा भएको छलफलमा राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, नागरिक समाजका अगुवा तथा प्रशासनिक अधिकारीहरू सहभागी थिए। सहभागीहरूको साझा धारणा थियो — “संघीयताको आरम्भमा गतिशील रहेको नेपालगञ्ज पछिल्लो समय पछि परेको छ, र यस क्षेत्रको पुनः उत्थानका लागि नेपालगञ्ज–दिल्ली उडान आवश्यक छ।”
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले दिल्ली उडान सुरु हुन सके मानसरोवर, रारालगायतका धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्र भारतीय पर्यटकका लागि सहज हुने बताउँदै, “यसले व्यापार–व्यवसाय र रोजगारीमा समेत टेवा पुर्याउनेछ,” भन्नुभयो।
कार्यक्रममा सहभागी प्रदेश सांसद कृष्णा केसी, मिना श्रेष्ठ, उपमहानगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायत नेताहरू — पशुपति दयाल मिश्र (एमाले), सुधांशु कोइराला (नेपाली कांग्रेस), प्रेम शाह (माओवादी केन्द्र), राजेन्द्र श्रेष्ठ (रास्वपा), करिश्मा योगी (एकीकृत समाजवादी) — सबैले दिल्ली उडानका लागि साझा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो।
यसबाहेक, छलफलमा विगतमा गरिएको प्रयास सार्थक बन्न नसकेको भन्दै अब संगठित दबाब सिर्जना गर्ने निर्णय पनि गरिएको छ। सोही उद्देश्यले नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीको नेतृत्वमा दबाब समिति गठन गरिएको छ।
उक्त समिति आगामी दिनमा नेपाल सरकारसँग वार्ता गर्ने, सरोकारवाला निकायहरूसँग समन्वय गर्ने र नेपालगञ्ज–दिल्ली उडानका पक्षमा व्यापक जनदबाब सिर्जना गर्ने रणनीतिमा लाग्नेछ।