४, असार २०८२
बर्दिया।शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्रमुख प्राथमिकताका रूपमा लिँदै बाँसगढी नगरपालिकाले कुल बजेटको ३० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्दै आएको छ। नगरप्रमुख खड्क बहादुर खड्काले बजेट अभावका बीच पनि शिक्षा क्षेत्रमा अझ प्रभावकारी ढंगले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै आगामी नीति तथा कार्यक्रममा यसलाई झन् प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।
नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग भएको शैक्षिक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो। नगर उपप्रमुख इन्दिरा चौधरीको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाको आयोजना तथा बाँसगढी नगरपालिका शिक्षा शाखा र राधाकृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा ४० वटा सामुदायिक र १६ वटा संस्थागत विद्यालयका गरी कुल ५६ विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाका प्रमुख सूर्यबहादुर खत्रीले जिल्लास्तरीय शैक्षिक तथ्यांक प्रस्तुत गर्दै बर्दियामा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म १ लाख १९ हजार ८८६ विद्यार्थी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाँसगढी नगरपालिकामा मात्रै १७ हजार ३७१ विद्यार्थी रहेका छन्।
शिक्षा शाखा प्रमुख मनप्रसाद रेग्मीले बाँसगढीलाई साक्षरता क्षेत्र घोषणा गरिए पनि हालको साक्षरता दर ७९.३ प्रतिशत मात्र रहेको र कक्षा १ देखि ५ सम्मको खुद भर्ना दर ९७ प्रतिशत तथा कक्षा ९ देखि १२ सम्मको दर ५८.१ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गर्नुभयो। हाल नगरमा १७६ शिक्षक दरबन्दी, १२६ राहत अनुदान शिक्षक र ८ जना प्राविधिक धाराका शिक्षक कार्यरत छन्।
राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका कार्यक्रम संयोजक जीतराम चौधरीले संस्थाले विद्यालय सुधारका लागि गरेका विविध कार्यहरूबारे जानकारी गराउँदै ९ विद्यालयमा बालमैत्री कक्षाकोठा निर्माण, ८ विद्यालयमा कार्पेटिङ, ३ विद्यालयमा बालपेन्ट, केही विद्यालयमा खेलौना, श्रव्यदृश्य सामग्री, खानेपानी व्यवस्था र मर्मत-सम्भार जस्ता सहयोग गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालयमा देखिएका समस्याहरू, आवश्यक सुधारका उपायहरू र आगामी नीतिमा प्राथमिकताका विषयहरूबारे पनि आफ्ना सुझावहरू राखेका थिए।
बाँसगढी नगरपालिकाको यस प्रकारको पहलले स्थानीय स्तरमा शिक्षाको गुणस्तर सुधारतर्फ सकारात्मक संकेत दिएको छ।