५, असार २०८२
बाँके। डुडुवा गाउँपालिकाले ‘छात्रा प्रोत्साहन कार्यक्रम’ अन्तर्गत एसईई परीक्षा उत्तीर्ण गरेका छात्राहरुलाई उच्च शिक्षामा सहज पहुँच र हौसला दिन साइकल वितरण गरेको छ। गाउँपालिका अन्तर्गतका ७ वटा सामुदायिक विद्यालयका २०८० सालमा एसईई पास गरेका ४१ छात्रामध्ये ३८ जना छात्राले साइकल प्राप्त गरेका हुन्।
साइकल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले खासगरी मधेशी र मुस्लिम समुदायका किशोरीहरू विभिन्न सामाजिक, सांस्कृतिक कारणले उच्च शिक्षाबाट वञ्चित हुने समस्या समाधान गर्न साइकल सहयोग गरिएको बताए। “साइकलले किशोरीहरूलाई टाढाको बजारसम्म पुगेर अध्ययन गर्न सहजता मिल्नेछ,” उहाँले भन्नुभयो।
शिक्षा, सूचना तथा सञ्जाल शाखा प्रमुख कौशल कैरातीका अनुसार छात्राहरूको नियमित विद्यालय पुग्नेलाई लक्षित गर्दै साइकल वितरण गरिएको हो।
कार्यक्रममा अध्यक्ष चौधरीले स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गरिएको जानकारी दिँदै संस्कार र नैतिक शिक्षालाई जोड दिइएको उल्लेख गर्नुभयो। “घरभित्रै संस्कारको वातावरण बनाउने उद्देश्यले नैतिक शिक्षाको थालनी गरिएको हो,” उहाँको भनाइ थियो।
उक्त कार्यक्रममा उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरू आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे, विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
साइकल वितरणले स्थानीय किशोरीहरूमा उत्साह थपिएको छ भने उच्च शिक्षातर्फको यात्रा सजिलो हुने अपेक्षा गरिएको छ।