५, असार २०८२
हुम्ला । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका ताँजाकोट गाउँपालिका–५ जिमानका बासिन्दा अब भने सहज रुपमा घरमै धारा खोलेर पानी पिउन पाएका छन्। स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र गाउँपालिकाको सहलगानीमा सम्पन्न खानेपानी आयोजना मार्फत घर–घरमा धारा पुगेपछि स्थानीयवासीले खुसी व्यक्त गर्दै गाउँमै उत्सवजस्तो माहोल सिर्जना गरेका छन्।
उक्त आयोजना सम्पन्न भई पानी सञ्चालनमा आएपछि गाउँ पुगेका गाउँपालिका अध्यक्ष लालकेश जैसी, वडा अध्यक्ष मोहनलाल रिठालसहित अन्य जनप्रतिनिधि र प्राविधिक टोलीलाई स्थानीयले फूलमाला, अविर र तालीका साथ स्वागत गरेका थिए। समारोहका क्रममा रिबन काटेर आयोजना औपचारिक रूपमा उद्घाटन गरिएको थियो।
वडा अध्यक्ष मोहनलाल रिठालका अनुसार करीब ८० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत अब हरेक घरमा सहज रूपमा धारा मार्फत खानेपानी आपूर्ति हुने भएको हो।
स्थानीय सर्जन खड्काले विगतमा एकै धारा वा खोला टेक्दै आएको जीवनशैलीबाट छुटकारा पाएर गाउँलेहरू निकै उत्साहित भएको बताउनुभयो।
गाउँपालिका अध्यक्ष जैसीका अनुसार यो वर्ष साना–साना योजनामा बजेट छरेर खर्च नगरी ठूला परियोजनामा प्राथमिकता दिइएको हो। “बाहिरका संस्थाहरूसँग सहकार्य गरेर दीर्घकालीन र प्रभावकारी योजना बनाउने हाम्रो दृष्टिकोण हो,” उहाँले भन्नुभयो।
यद्यपि गाउँपालिकाको छप्रे क्षेत्रतिर भने अझै केही खानेपानी समस्या बाँकी रहेकाले आगामी योजनामा ती क्षेत्रलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो।
गाउँमा पानीको समस्या समाधानसँगै स्थानीयको जीवनशैलीमा परिवर्तन आउने अपेक्षा गरिएको छ।