७, असार २०८२
बाँके ।यसवर्ष ठूलो वर्षा भए बर्दियामा ८३ हजार बढी बासिन्दा प्रभावित हुने अनुमान जिल्ला विपत् व्यवस्थापन समितिले गरेको छ । मौसम पूर्वानुमान अनुसार यसवर्ष सबैभन्दा बढी लुम्बिनी प्रदेशमा बढी वर्षा हुने आकलन गरिएको छ ।
तिमध्ये दुम्बिनी प्रदेशको बर्दिया बाढीको सबै भन्दा जोखिममा मानिन्छ । बर्दियाबाट बग्ने कर्णाली, बबई लगायत नदी छन् । यस बाहेक ठूला साना खोलाहरु छन् । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस वर्ष ठूलो पानी परे बर्दियामा बाढी र डुवानबाट ८३ हजार बढी मानिस बढी प्रभावित हुने बताए ।
‘०४० साल देखि बर्दियामा बाढीको पुर्याएको क्षतिको आधारमा यो आकलन गरिएको छ,’ उनले भने, ‘मनसुनजन्य विपत् प्रतिकार्यका लागि सम्पूर्ण तयारी गरिएको छ । यस बाहेक उद्धारपछि राहतको व्यवस्थाको तयारी पनि गरिएको छ ।’
जिल्लाका आठै वटा पालिका विपत् प्रतिकार्यका लागि तयारीमा लागेका छन् । ४०, ०५१, ०५८, ०७१, ०७४ र ०७९ सालमा ठूलो बाढी आएको थियो । यस अवधिमा ५० जना बढीको ज्यान गइसकेको छ । सबै भन्दा ठूलो बाढी ०७१ साल साउनमा आउँदा ९३ हजार मानिस प्रभावित भएका थिए । ०७१ को बाढीले बाढीले बगाउँदा ३२ जनाको ज्यान गएको थियो । बर्दियामा ०७१ को बाढीले रामपुर टप्पु र ढुग्रवा गाउँ नै बबईले बगाएको थियो ।
मनसुनजन्य विपत् पूर्व सुरक्षा निकायका तीन अंग नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलाई उद्धार, राहत लगायत विषयमा कृतिम अभ्यास गराइसकेको छ । बाढी आउनु पूर्व सूचना प्रणाली अन्तर्गत साइरन बजाउने, समूहले प्रभावित बस्तीका मानिसलाई सुरक्षित स्थल तर्फ जान सल्लाह दिने काम गर्ने छन् ।