बाजुरा,७ असार ।
बाजुराको मार्तडी–कोल्टी सडकखण्डको ढम्कनेदेखि कोल्टीसम्मको कालोपत्रे कार्यमा ठेकेदारको लापरबाहीले गर्दा यो आर्थिक वर्षको झण्डै १३ करोड ५० लाख बजेट फिर्ता हुने भएको छ।
पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा उक्त सडकखण्डको कालोपत्रेका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, ठेक्का पाएको पिएस बानियाँ निर्माण सेवाले मात्र करिब डेढ करोड बराबरको काम गरेको छ।
ठेक्का सम्झौता २०७७ साल असारमा भएको थियो, जसअनुसार कम्पनीले २६ किलोमिटर सडक ५० करोड १७ लाख रुपैयाँमा कालोपत्रे गर्नुपर्ने थियो। तीन वर्षभित्र काम सक्नुपर्ने शर्तमा म्याद समेत थप गरिएको थियो। तर, म्याद सकिँदै गर्दा पनि काम सन्तोषजनक रूपमा अगाडि बढ्न नसकेपछि ठूलो परिमाणको बजेट फिर्ता जान लागेको हो।
९८ करोडको टेण्डरमध्ये पिएस बानियाँ निर्माण सेवा सस्तो मूल्यमा ठेक्का लिन सफल भए पनि अहिले आएर कुल कामको ५० प्रतिशत मात्रै सम्पन्न भएको अछाम पूर्वाधार विकास कार्यालयले जनाएको छ।
सडक अधुरो हुँदा बर्सातका समयमा मार्तडी–कोल्टी सडक नियमित रूपमा अवरुद्ध हुने गरेको छ, जसले स्थानीय बासिन्दा र कोल्टी अस्पतालमा आवतजावत गर्नेलाई सास्ती भइरहेको छ।
उक्त निर्माण कम्पनी नेपाली काँग्रेस बागमती प्रदेश सभाका सदस्य तथा काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको स्वामित्वमा रहेको खुलेको छ।
सडक निर्माण कार्य २०५६ सालमै सुरु भए पनि २७ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन। स्थानीयवासीले बारम्बार माग गरिरहे पनि योजनाको गती सुस्त हुनु, ठेकेदारको लापरबाही र निगरानीको अभावका कारण यो सडक अझै पनि अधुरो छ।
अब ठेकेदार कम्पनीमाथि कारबाहीको माग गर्दै जनप्रतिनिधि तथा स्थानीय समुदाय आन्दोलित हुने संकेत देखिएको छ।