८, असार २०८२
बाँके ।बाँकेमा बढ्दो गर्मीसँगै झाडापखाला, ज्वरो र छालासम्बन्धी समस्याका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। अत्यधिक तापक्रमका कारण अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको भीड बढिरहेको छ।
भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. संकेतकुमार रिसालका अनुसार गर्मीको असरले गर्दा धेरै बिरामीहरूमा पखाला लाग्ने, ज्वरो आउने, छाला पोल्ने, र रक्तचाप घटबढ हुने समस्या देखिएको छ। उहाँले भन्नुभयो,
“यतिबेला अस्पतालमा दैनिक दर्जनौं बिरामीहरू यस्तै लक्षण लिएर आउँछन्। गर्मीको प्रभाव शरीरमा सोझै देखिने भएकाले बालबालिका, वृद्धवृद्धा र कमजोरी भएका व्यक्तिमा झनै जोखिम छ।”
नेपालगञ्ज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाइले समेत गर्मीका कारण अस्पतालमा आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो। उहाँले भन्नुभयो,
“विशेषगरी बालबालिकामा रातो बिमिरा आउने, छालामा फोका उठ्ने र पछि घाउ बन्ने समस्या देखिएको छ। यो अवस्था अझ फैलिन सक्ने भएकाले सावधानी जरुरी छ।”
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले पनि जिल्लाका सहरी र ग्रामीण दुबै क्षेत्रमा गर्मीजन्य रोगका बिरामी स्वास्थ्य संस्थामा बढ्दै गएका जानकारी दिनुभयो। विशेषगरी पानीको कमी, दूषित खानेपानी र स्वच्छतामा कमी भएका क्षेत्रमा जोखिम बढी भएको उहाँको भनाइ छ।
नेपालगञ्ज उपमहानगरपालिका–१० की ६५ वर्षीय गीता कुमारी चौधरीले भेरी अस्पतालमा उपचार गराइरहनु भएको छ। उहाँले भन्नुभयो,
“गर्मीले दिनभरि टाउको दुख्ने, बान्ता हुने र पखाला लागेपछि अस्पताल आउनुपर्यो। अब अलिक सहज भइरहेको छ।”
त्यस्तै, कोहलपुरका अर्जुन थारूले आफ्नी ७ वर्षीया छोरीलाई झाडापखालाले ग्रसित भएपछि शिक्षण अस्पतालमा ल्याएको बताउनुभयो।
“छोरीलाई अचानक धेरै पखाला लाग्न थाल्यो, शरीर कमजोर भयो। डाक्टरले गर्मीकै असर भन्नुभयो,” उहाँले बताउनुभयो।
स्वास्थ्यकर्मीहरूले यो अवस्थामा सुरक्षित र सफा खानेपानीको प्रयोग गर्न, दिनमा धेरैपटक पानी पिउन, बाहिर निस्कँदा टाउको छोप्न, हल्का लुगा लगाउन र झोलिलो पदार्थ सेवन गर्न आग्रह गरेका छन्।
जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको बेला यो अवस्था देखिएको हो। यदि सावधानी नअपनाइए थप जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ।