बनगाड कुपिण्डे नगरपालिकामा वडा कार्यालयको पूर्वाधार विस्तार तीव्र, ८ वटै वडा आफ्नै भवनबाट सेवा सञ्चालनको तयारीमा

  • नमस्ते कर्णाली

  • ८, असार २०८२
    सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले वडा कार्यालय पूर्वाधार विस्तारलाई तीव्रता दिँदै धेरै वडा कार्यालयहरू आफ्नै भवनबाट सेवा दिन थालेका छन्। पछिल्लो समयमा वडा नं २, ३ र १० का नवनिर्मित कार्यालयहरूको उद्घाटन भएसँगै, नगरपालिकाले यस आर्थिक वर्षमा ८ वटै वडा कार्यालय आफ्नै संरचनाबाट सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।

    नगर प्रमुख कर्ण बहादुर बुढाथोकीका अनुसार, अघिल्लो आर्थिक वर्षमा वडा नं ७ र ८ को कार्यालय उद्घाटन भइसकेको थियो भने दुई वर्षअघि नै नगरपालिकाको प्रशासनिक भवनसमेत निर्माण सम्पन्न भएको थियो। यस वर्ष वडा नं ११ र १२ को कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको र वडा नं ९ को टेन्डर प्रक्रिया अघि बढिसकेको प्राविधिक शाखा प्रमुख महेश देवकोटाले जानकारी दिनुभयो।

    “वडा कार्यालयको अभावले जनतालाई सेवा लिन अप्ठ्यारो पर्ने, भाडा बापत लाखौं रुपैयाँ खर्च हुने अवस्था थियो,” प्रमुख बुढाथोकीले भन्नुभयो, “त्यसैले नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर धमाधम वडा कार्यालय उद्घाटनको अभियान थालेको हो।”

    हाल वडा नं २, ३, ५, ७, ८, १०, ११ र १२ गरी ८ वटै वडाले यसै आर्थिक वर्षमा आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेका छन्। वडा नं १, ४ र ६ भने हाल जग्गा प्राप्तिको प्रक्रियामा छन् र अस्थायी रूपमा भाडाका घरबाट सेवा दिइरहेका छन्।

    स्थानीय तह सुदृढीकरण र जनतामुखी सेवा प्रवाहमा पूर्वाधार विकासमार्फत महत्वपूर्ण योगदान पुर्‍याउने प्रयासस्वरूप बनगाड कुपिण्डे नगरपालिका उदाहरणीय बन्दै गएको स्थानीयवासीले बताउँदै आएका छन्।

     

  • ८ असार २०८२, आईतवार ०७:०२ प्रकाशित

  • Nabintech