१०, असार २०८२
बर्दिया। बर्दिया जिल्लाको वन क्षेत्रसँग जोडिएका बस्तीहरूमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न लगाइएको कङ्क्रिट वाल (दिवाल) प्रभावकारी बन्दै गएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएका बस्तीहरूमा बाघ, गैँडा, चित्तल, चितुवा, हात्ती, बँदेललगायतका वन्यजन्तु बस्ती तथा खेतबारीमा प्रवेश गरेर अन्नबालीमा क्षति पुर्याउने समस्या विगतदेखि रहँदै आएको थियो।
वन्यजन्तुको आक्रमणबाट जोगिन तथा कृषकको अन्नबाली जोगाउन ठाकुरबाबा नगरपालिकाले निकुञ्ज सीमासँग जोडिएका ३२ किलोमिटर क्षेत्रमा कङ्क्रिट वाल निर्माण अभियान सुरु गरेको हो। नगर प्रमुख तिलकराम लम्सालका अनुसार, “गत वर्षदेखि सुरु गरिएको वाल निर्माण अभियान अन्तर्गत हालसम्म ११ किलोमिटर क्षेत्रमा कङ्क्रिट वाल निर्माण भइसकेको छ। यसका लागि नगरपालिकाले करीब २० करोड रुपैयाँ लगानी गरिसकेको छ।”
खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले पनि कङ्क्रिट वालले बाघ, हात्ती, गैँडा, चितुवा जस्ता वन्यजन्तुको बस्ती प्रवेशमा रोक लगाएको र कृषकका अन्नबाली सुरक्षित भएका कारण द्वन्द्व घटेको जानकारी दिनुभयो।
डुम्रेनिका स्थानीय किसान रामबहादुर थारू भन्छन्, “अघिल्लो वर्ष हात्ती र चित्तलले धानबाली खेर फाल्थे, रातभर खेदाउँदै बस्नुपर्थ्यो। अहिले पर्खाल बनेपछि खेत सुरक्षित छ। अब मन लगाएर खेती गर्न पाइने भयो।”
त्यस्तै, अम्रेनिकि कृषक सीता चौधरी भन्छिन्, “वन्यजन्तु खेतमा पस्न छाडेपछि हामीले लगाएको अन्नबालीमा उत्पादन राम्रो भएको छ। पहिले झैँ डर र क्षति छैन।”
ठाकुरबाबा नगरपालिका–१, २, ४, ६, ७ र ८ का डुम्रेनी, अम्रेनी, कर्मला, सैनवार, मोतीपुर, लठुवा, खोरपुर, गोब्रेला, चिटकैया, शिवपुरजस्ता स्थानमा कङ्क्रिट वाल निर्माण भइसकेको छ। कृषकहरू खुसी छन्, किनभने उनीहरूले पहिलोपटक आफ्ना बाली सुरक्षित भएको महसुस गरेका छन्।
नगरपालिकाका अनुसार बाँकी क्षेत्रको काम पनि आगामी वर्षहरूमा सम्पन्न गर्दै जाने योजना रहेको छ। कङ्क्रिट वाल निर्माणले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै बर्दियाको बस्ती र कृषिलाई सुरक्षित बनाउने विश्वास लिइएको छ।