१२, असार २०८२
बाँके । बैजनाथ गाउँपालिकाको १८औं गाउँसभा सोमबार सम्पन्न भएको छ। सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८२ करोड २१ लाख ५२ हजार १ सय ५३ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो।
उपाध्यक्ष रोकायाका अनुसार यो वर्षको बजेटमा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ भने स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार क्षेत्रलाई समेत विशेष प्राथमिकतामा समेटिएको छ। गाउँपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको लोकप्रिय कार्यक्रम “किसानसँग पालिका प्रमुख” का लागि मात्रै ४ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिका सभाहलमा दिउँसो २ बजे सुरु भएको गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो। सभामा प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, लेखा अधिकृत पुर्ब प्रसाद जैसी, प्रशासन प्रमुख तप्तराज आचार्य र आन्तरिक लेखा परीक्षक उपेन्द्र ढुंगानाले उपाध्यक्षलाई बजेट सुटकेस हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रमको सुरुवातमा प्रशासन प्रमुख तप्तराज आचार्यले सभा सुरु भएको जानकारी दिनुभएको थियो। गाउँसभा सदस्यहरूको उपस्थिति उल्लेखनीय रहेको र प्रस्तुत बजेटका प्राथमिकताहरूलाई आगामी वर्षको कार्ययोजनाको मेरुदण्डको रूपमा लिइने जनाइएको छ।