दुर्घटनामा ज्यान गुमाएका हुम्लाका धिरेन्द्र भियालका परिवार न्यायको खोजीमा

पाँच दिनदेखि टिचिङ अस्पतालमा छोराको लास, न न्याय, न सुनुवाइ


  • नमस्ते कर्णाली

  •  काठमाडौं ,१३, असार।

    हुम्ला अदानचुली गाउँपालिका–३ फडेरा गाउँका २२ वर्षीय धिरेन्द्र भियालले हेल्थ असिस्टेन्ट (एच.ए.) को अध्ययन सकेपछि जागिर नपाएपछि विदेश जान लागेका थिए। तर, अषाढ ८ गते साँझ राजधानी काठमाडौँमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

    शिक्षित युवा भएर पनि घरको गरिबी र ऋणका कारण धिरेन्द्रले विदेश जाने निर्णय गरेका थिए। बुवा मन्जीते भियाल ज्यालादारी मजदुरी गरेर र दिदी खाडी मुलुकमा काम गरेर उनलाई पढाएका थिए। धिरेन्द्रले काठमाडौंको सहिद स्मारक जनशक्ति कलेज (MIST) बाट एच.ए. सकेका थिए। तर, जागिर नपाएपछि विदेश जाने तयारीमा थिए। तर त्यो सपना साकार हुन नपाउँदै, उनको ज्यान एक भीषण दुर्घटनाले लियो।

    धिरेन्द्रको परिवारका अनुसार, अषाढ ८ गते साँझ करिब ८:१५ बजे उनी थानकोटस्थित डेराबाट निस्किएका थिए। त्यसपछि ढुंगेअड्डा, कलंकी नजिकै दुई मोटरसाइकल ठोक्किएपछि उनलाई ना.६ ख ८६७४ नम्बरको ट्रकले ठक्कर दियो। ट्रकले उनलाई किच्दा घटनास्थलमै उनको ज्यान गयो। अर्का मोटरसाइकल चालक भने घाइते भएका छन् र शहिद मेमोरियल अस्पताल कलंकीमा उपचाररत छन्।

    बुवा मन्जीते भियालका अनुसार, दुर्घटनाको खबर ५–६ घण्टा ढिलो गरी आयो। ‘मरेको छैन, बिरामी मात्रै भएको भन्ने सूचना आयो,’ उनी भन्छन्, ‘तर त्यतिबेलासम्म गाउँमा सबैलाई थाहा भइसकेको थियो कि मेरो छोरा अब यो संसारमा छैन।’

    धिरेन्द्रको लास हाल टिचिङ अस्पताल, महाराजगञ्जमा रहेको छ। तर ५ दिन बितिसक्दासमेत कुनै स्पष्ट छानबिन प्रक्रिया अघि बढेको छैन। मृतकका बुबाले थानकोट प्रहरी वृत्तमा उजुरी दर्ता गरिसकेका छन् तर परिवारले अहिलेसम्म न्यायको कुनै आशा देखेका छैनन्।

    बुबा मन्जीते भियाल भन्छन् – “सारा धन सकियो, उमेर सकियो, अन्त्यमा छोरा पनि गयो। अब न्याय पनि नपाइने हो भने बाँचेको अर्थ के रह्यो?”

    सामाजिक सञ्जालमा अहिले धिरेन्द्र भियालको घटनाप्रति आक्रोश र सहानुभूति प्रकट भइरहेका छन्। धेरैले सरकार, सुरक्षा निकाय र राजनीतिक दललाई गरिब, दुर्गम क्षेत्रका युवाको पीडाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

    धिरेन्द्रको मृत्युले न परिवारमा मात्र, गाउँमा पनि शोक छाएको छ। उनी एक मात्र छोरा थिए। आमा सुगानि भियाल निरन्तर बेहोस भइरहेकी छन्। पाँच दिनदेखि लास अस्पतालमै राखिएको छ, तर न्यायका लागि कुनै सम्बद्ध निकायको गम्भीर चासो देखिएको छैन।

    गाउँका अगुवा र काठमाडौंमा रहेका हुम्ली नागरिकहरुले शनिबार (अषाढ १५) बाट थानकोट चेकपोष्टमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।

    धिरेन्द्रको मृत्यु दुर्घटना हो वा नियोजित, त्यसको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न माग गर्दै आन्दोलन गरिने जनाइएको छ।

    गरिब, दलित, दुर्गम क्षेत्रका युवाको आवाज सदन र सडकमा समेत नपुग्ने स्थिति भयावह बन्दै गएको भन्दै मृतकका आफन्तले न्यायको लागि सबै नागरिकसँग ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।

     

     

  • १३ असार २०८२, शुक्रबार २३:४९ प्रकाशित

  • Nabintech