विवाद र बजेट अभावले अल्झियो मदन भण्डारी राजमार्गको पश्चिम खण्ड निर्माण

सुर्खेतमा सडक विस्तारमा स्थानीय अवरोध र प्राविधिक चुनौतीले निर्माण कार्य प्रभावित


  • नमस्ते कर्णाली

  • सुर्खेत ,१५ असार।
    राष्ट्रिय गौरवको आयोजना मानिएको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिम खण्डको निर्माण कार्यमा निरन्तर ढिलाइ भइरहेको छ। बारम्बार उब्जिने विवाद, स्थानीयको अवरोध र बजेट अभावजस्ता कारणले गर्दा निर्माणको गति अवरुद्ध भएको हो।

    पश्चिम खण्ड अन्तर्गत विद्यापुरदेखि बल्देसम्मको सडकको निर्माण म्याद २०८२ फागुन १६ गतेसम्म तोकिएको छ भने बल्देदेखि लगामसम्मको म्याद २०८४ भदौ १३ गतेसम्म राखिएको छ। प्रारम्भिक बजेट १ अर्ब २१ करोड रुपैयाँ रहेको यो खण्डमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन। पूर्वी खण्डमा भने १ अर्ब ३६ करोडको बजेटमा काम अन्तिम चरणमा पुगेको छ।

    पछिल्लो समय चौकुने गाउँपालिकाको गुटु–बल्दे खण्ड अन्तर्गत बिजौरा क्षेत्रमा स्थानीयले सडक निर्माणमा अवरोध गरेका छन्। डीपीआर अनुसार बजार क्षेत्र विस्थापित हुने भन्दै अस्पताल चौकदेखि डुफेला जोड्ने करिब १३ सय मिटर सडकको निर्माणमा स्थानीयले असहमति जनाएका हुन्। चौकुने-४ का वडाध्यक्ष टोपबहादुर बिसीका अनुसार सो मार्गबाट दुई दर्जन घर र आठ रोपनीभन्दा बढी जग्गा प्रभावित हुने देखिएको छ।

    स्थानीयको माग अनुसार सडक घुमाएर लैजानुपर्ने भनिएपनि योजना कार्यालयले राष्ट्रिय राजमार्ग जति सक्दो छोटो र सीधा हुनु पर्ने तर्क राख्दै आएको छ। घुमाएर लैजाँदा करिब २ किलोमिटर लम्बिन सक्ने अनुमान गरिएको छ। सहमति जुटाउन सर्वपक्षीय छलफलसमेत भएको भएपनि समस्या समाधानमा प्रगति हुन सकेको छैन।

    यो खण्डको सुरुवाती चरणमै डीपीआरको विषयमा विवाद देखिएको हो। बराहतालको बड्डीचौर र पञ्चपुरीको बराइचे, दुलालथाईजस्ता ठाउँमा प्रारम्भिक सर्वेक्षणमै स्थानीयको असहमति थियो। साथै बड्डीचौरदेखि खम्बागाडेसम्मको सडकमा रुख हटाउने अनुमति नपाउँदा लामो समयसम्म काम रोकिएको थियो।

    हाल प्रदेश सरकार मार्फत बड्डीचौर–खम्बागाडे खण्डको १३ किलोमिटर सडकको काम भइरहेको छ। विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटर सडकको निर्माणमा नाली, चौडाइ, कल्भर्ट लगायतका कार्य अघि बढिरहेको इन्जिनियर ओलीले जानकारी दिए। तर लगामदेखि पाल्पाघाटसम्मको करिब ३० किलोमिटर सडकमा स्रोत सुनिश्चितता अझै हुन बाँकी छ।

    पूर्वी खण्डमा भने काम तीव्र गतिमा अघि बढेको छ। भेडाबारीदेखि धुलियाबिटसम्मको ३५ किलोमिटरमध्ये ३३ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। १२ मध्ये ११ वटा पुल निर्माण सकिएको र बाँकी एकवटा पनि अन्तिम चरणमा पुगेको छ।

    मदन भण्डारी राजमार्गले सुर्खेतका छ वटा स्थानीय तह पार गर्दै सुदूरपश्चिमको डोटी जिल्लासँग सिधा जोड्नेछ। हाल कोहलपुर हुँदै चिसापानीसम्म पुग्न १८५ किलोमिटर यात्रा गर्नुपर्ने भएपनि यो राजमार्ग सम्पन्न भएपछि ९५ किलोमिटरमै डोटी पुग्न सकिनेछ।

    तर विविध विवाद र बजेट अभावका कारण पश्चिम खण्डमा काम ढिलाइ हुँदा यो राष्ट्रिय गौरवको आयोजना समयमा सम्पन्न हुनेमा शंका उब्जिएको छ। स्थानीय सहमति, स्रोत सुनिश्चितता र प्रभावकारी कार्यान्वयन नहुनुले निर्माण प्रक्रिया थप जटिल बन्दै गएको देखिन्छ।

     

  • १५ असार २०८२, आईतवार ०७:०५ प्रकाशित

  • Nabintech