बाजुरामा कुपोषणको संकट : उपचारात्मक खाना अभावले दुई बालबालिकाको ज्यान गयो

  • नमस्ते कर्णाली

  • १७, असार २०८२
    बाजुरा।बाजुराको दुर्गम क्षेत्र स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा कुपोषणका कारण दुई बालबालिकाले ज्यान गुमाएका छन्। उपचारात्मक खाना रेडी टु युज थेराप्युटिक फुड (RUTF) को लामो समयदेखि अभाव हुँदा १६ महिनाका सन्तोष न्यौपाने र १७ महिनाकी जमुना विकको मृत्यु भएको हो।

    चार महिनादेखि आरयूटीएफ आपूर्ति ठप्प हुँदा मुक्तिकोट स्वास्थ्य चौकीमा कुपोषणको उपचार अवरुद्ध भएको छ। स्वास्थ्य चौकीका इञ्चार्ज बिर्ज विकका अनुसार, “२५ जना कुपोषित बालबालिकाको उपचार रोकिएको छ, गाउँपालिका र स्वास्थ्य कार्यालयलाई पटक–पटक जानकारी गराए पनि राहत आउन सकेन।”

    स्वास्थ्य संस्थामा दुई बालबालिकाको मृत्युको रेकर्ड भए पनि स्थानीयवासीका अनुसार गाउँमा कुपोषणका कारण मृत्यु हुने बालबालिकाको संख्या पाँच पुगिसकेको छ।

    गाउँपालिका स्वास्थ्य संयोजक भक्तबहादुर कैलाका अनुसार, “आरयूटीएफ जिल्ला स्वास्थ्य कार्यालयबाट पालिकामा पठाइने प्रक्रिया हो, तर जिल्लाबाट नै आपूर्ति नहुँदा स्थानीय स्वास्थ्य संस्थामा वितरण गर्न नसकिएको हो। केही दिनमै राहत सामग्री पठाउने तयारी भइरहेको छ।”

    स्थानीय बासिन्दाहरूले ज्यान गुमाएका बालबालिकाको मृत्युमा राज्यको बेवास्ता र कमजोर आपूर्ति प्रणाली जिम्मेवार रहेको आरोप लगाएका छन्।

    बालबालिकाको जीवन जोगाउन अत्यावश्यक पोषणयुक्त खाद्य आपूर्तिमा तत्काल ध्यान दिनुपर्ने माग चुलिँदै गएको छ।

  • १७ असार २०८२, मंगलवार १०:४७ प्रकाशित

  • Nabintech