१७, असार २०८२
बाजुरा।बाजुराको बाम्का बजारमा जेठ २३ गते भएको भीषण आगलागीबाट प्रभावित भएका पीडितहरूलाई ६७ लाख ८२ हजार ८ सय ६७ रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ। विभिन्न निकाय र व्यक्तिहरूबाट संकलित राहत रकम आइतबार एक औपचारिक कार्यक्रममार्फत अग्निपीडितहरूलाई चेकमार्फत प्रदान गरिएको हो।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाको अध्यक्षतामा गठन गरिएको राहत संकलन तथा व्यवस्थापन समितिले अग्निपीडितलाई औपचारिक रूपमा राहत हस्तान्तरण गरेको जानकारी दिएको छ।
राहत संकलन अभियानमा सुदूरपश्चिम प्रदेश सरकार, बाजुराका नौ वटै स्थानीय तह, विभिन्न संघसंस्था, उद्योगी, व्यापारी तथा अन्य सामाजिक व्यक्तित्वहरूको सक्रिय सहयोग रहेको थियो।
त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाका अनुसार हालसम्म विभिन्न निकायहरूमार्फत गरी करिब एक करोड रुपैयाँ बराबरको राहत संकलन भइसकेको छ।
उक्त आगलागी बाम्का बजारस्थित एक होटलमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा फैलिएको थियो। आगलागीले बजार क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो।
बुढीगंगा नगरपालिकाका अनुसार राहत वितरणसँगै पुनःनिर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ, जसले प्रभावित परिवारहरूलाई पुनः सामान्य जीवनतर्फ फर्कन सहयोग पुर्याएको छ।