१७, असार २०८२
बाँके ।बाँकेको खजुरा गाउँपालिका–४ एफ गाउँमा विषाक्त खाना खाँदा १३ जना स्थानीय बिरामी परेका छन्। गत असार १४ गते राति आयोजित भातखुवाई कार्यक्रममा सहभागि भएकामध्ये १३ जनामा झाडापखाला लगायतका लक्षण देखिएपछि स्वास्थ्य समस्या उत्पन्न भएको हो।
स्थानीय निस्मा विष्टको छोरीको भातखुवाई कार्यक्रममा खाएको खानाबाट बिरामी परेको इलाका प्रहरी कार्यालय धनौलीले पुष्टि गरेको छ। बिरामीमध्ये ४ जनाको खजुरास्थित बाँके सिटी अस्पतालमा उपचार भइरहेको छ भने बाँकी बिरामीहरू सामान्य उपचारपछि घर फर्किसकेका छन्।
अस्पतालमा उपचाररत बिरामीहरू मिनाकुमारी मगर, सीता बुढा क्षेत्री, लिलावती विष्ट र खुसी विष्ट हुन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको जानकारी इलाका प्रहरीले दिएको छ।
घटनापछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक (तुफान) र उपाध्यक्ष मन्जु मल्लसहितको टोली सोमबार बिहान सिटी अस्पताल पुगेर बिरामीको अवस्था अवलोकन गर्नुभएको छ। अध्यक्ष बिकले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका छन्।
प्रहरी र स्थानीय तहले घटनाबारे थप छानबिन सुरु गरेको जनाएका छन्। प्रारम्भिक अनुमान अनुसार खाद्य विषाक्तताका कारण बिरामी परेका हुन्।