लुम्बिनी सडकमा बुद्धका मूर्तिहरू: शान्तिको सन्देशसहित पर्यटन प्रवर्द्धनमा योगदान

  • नमस्ते कर्णाली

  • १८, असार २०८२

    रुपन्देही।गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने मुख्य मार्ग भैरहवा–लुम्बिनी सडकखण्डमा बुद्धका मूर्तिहरू राखिएका छन्। मायादेवी गाउँपालिका अन्तर्गत पर्ने हाटीबनगाईदेखि महजिदिया चोकसम्मको सडकमा हालसम्म ४१ वटा बुद्ध मूर्ति स्थापना गरिएको हो।

    शान्ति भूमिको पहिचान झल्काउन र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मूर्ति स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष ध्रुब नारायण चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्षमा मुख्य चोकहरूमा हाईमास्ट लाइट जडान गर्ने योजना समेत रहेको छ। “उज्यालो बढेपछि दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेछ,” अध्यक्ष चौधरीले भन्नुभयो।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलका अनुसार कुल ४८ लाख रुपैयाँको लागतमा मूर्तिहरू निर्माण तथा स्थापनाको काम सम्पन्न गरिएको हो।

    लुम्बिनीलाई विश्व शान्तिको प्रतीकस्थलका रूपमा अझ प्रभावकारी रूपमा चिनाउन र यहाँ आउने पर्यटकलाई सांस्कृतिक अनुभूति गराउने उद्देश्यले पालिकाले यस्ता पहलहरू अघि बढाएको बताइएको छ।

  • १८ असार २०८२, बुधबार ०९:०९ प्रकाशित

  • Nabintech