लुम्बिनी प्राविधिक विश्वविद्यालयको तेस्रो वार्षिकोत्सव सम्पन्न, खजुराबाट प्रशासनिक काम सुरु हुने तयारी

  • नमस्ते कर्णाली

  • १९, असार २०८२
    बाँके । लुम्बिनी प्राविधिक विश्वविद्यालय, खजुराले आफ्नो तेस्रो वार्षिकोत्सव भव्य रूपमा मनाएको छ।

    कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै मन्त्री तिमिल्सिनाले विश्वविद्यालयले प्रगतिको गति लिएको उल्लेख गर्दै अब व्यवस्थापनलाई थप सुदृढ बनाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    सुरुवाती चरणमा ३३ जना विद्यार्थीबाट अध्यापन कार्य सुरु गरेको विश्वविद्यालयमा हाल दुई सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा विनोद ढकालको अध्यक्षता रहेको थियो भने कुलसचिव रेग बहादुर भण्डारीले लुम्बिनी प्राविधिक विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिनुभयो।

    हाल विश्वविद्यालय नेपालगन्जस्थित डिभिजन बन कार्यालय बाँकेको भवनबाट सञ्चालन भइरहेको छ। यद्यपि खजुरा गाउँपालिका–८ मा रहेको झन्डै ८ सय बिगाहा क्षेत्रफलमा विश्वविद्यालय सञ्चालन गर्ने तयारी छ। स्थानीय र प्रदेश सरकारको सिफारिस भइसके पनि संघीय मन्त्रालयमा फाइल रोकिएकाले स्थायी क्याम्पस स्थानान्तरणमा ढिलाइ भएको हो।

    कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले आगामी भदौ महिनादेखि विश्वविद्यालयको प्रशासनिक काम खजुराबाटै सञ्चालन हुने जानकारी दिनुभयो। हाल खजुरा गाउँपालिकाको प्रशासनिक भवनमा विश्वविद्यालयको बोर्ड राखिए पनि पालिका आफैं उक्त भवनमा नसरेका कारण विश्वविद्यालयलाई आवश्यक पूर्वाधार प्रयोग गर्न समस्या भइरहेको छ।

    पूर्वमुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारबाट खजुरामा स्थापना घोषणा भए पनि पछिल्लोपटक विश्वविद्यालयलाई दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्ज सार्ने प्रयास भएको थियो। तर बाँकेका जनप्रतिनिधि तथा माओवादीका तत्कालीन मन्त्री सुदर्शन बराललगायत नेताहरूको दबाबपछि सरकारले स्थानान्तरणको निर्णय फिर्ता लिएको थियो।

    वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। पुस्तकालय अधिकृत तेजु कुमारी विष्टले सञ्चालन गरेको कार्यक्रममा डिन निरज केसीले विश्वविद्यालयको हालको अवस्था र भावी योजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री रत्न खत्री, बादशाह कुर्मी, चन्द्रकेश गुप्तालगायतको उपस्थिति रहेको थियो।

    लुम्बिनी प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षा विस्तारमार्फत स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याउने विश्वास लिइएको छ।

     

  • १९ असार २०८२, बिहीबार ०७:१९ प्रकाशित

  • Nabintech